राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले कलाकार तथा लोकगायक जयनन्द लामाको निधनप्रति दु:ख व्यक्त गरेका छन्।
बुधबार राष्ट्रपति भण्डारीले ट्विट गर्दै गायक लामाको निधनले नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गरेकी छन्। लामाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गरेकी छन्।
यस्तै प्रधानमन्त्री देउवाले पनि सामाजिक सञ्जालमार्फत् उनको निधनप्रति दुख व्यक्त गरेका हुन्।
‘कलाकार एवं लोकगायक जयनन्द लामाको असमायिक निधनबाट मुलुकले गितसंगीत, चलचित्र एवं हास्य क्षेत्रका एक असल साधक गुमाएको छ,’ प्रधानमन्त्री देउवाले लेखेका छन्, ‘दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।’
भक्तपुरको मध्यपुरथिमी नगरपालिका-१ लोकन्थलीको सचेत मार्गस्थित आफ्नै घर अगाडि ६६ वर्षीय लामा बुधबार बिहान मृत फेला परेका थिए।
प्रहरीका अनुसार कलाकार लामा मंगलबार साँझ ७ बजे ‘मिटिङ’मा सहभागी हुन भनेर बौद्ध गएका थिए।
‘राति बौद्धबाट फर्किएका थिए। आफ्नै घर अगाडि कारबाट ओर्लदै गर्दा लडेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ’, महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु पाण्डेले भने।
बिहान ७ बजेर ५ मिनेटमा आफन्तले हेर्दा बा ३ च ७७४१ नं. को मारूती सुजुकी कारमा एउटा खुट्टा गाडीमा र शरीर घोप्टो परि टाउको भुईमा जोतिएको अवस्थामा मृत फेला परेका हुन्।
प्रहरीले शवको पोष्टमार्टम गर्न दुवाकोटस्थित केएमसी अस्पताल पठाएको छ।
सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाले पाँच दशकअघि गायन यात्रा शुरू गरेका थिए।
लामाका कलकत्ते काइँयो केश मेरो बाँगो, पानी पर्यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौं नक्कलीलाई पातलीलाई कसरी बे गरुँ, चुईं चुईं चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता दर्जनौं लोकगीत अहिले पनि उत्तिकै लोकप्रिय छन्।
एक सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका लामाले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए।