जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी समर्थक र विरोधी एउटै सरकारमा बस्ने नमिल्ने बताएका छन्। मंगलबार राति ट्वीटमार्फत उनले अमेरिकी सहयोग परियोजना (एमसीसी)का समर्थक र विरोधीहरू एउटै गठबन्धन/सरकारमा बस्न नमिल्ने धारणा राखेका हुन् ।
उनले सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनु नहुने स्पष्ट पारेका छन्। ‘एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति,राज्यप्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन/सरकारमा बस्न मिल्दैन!’उनले भनेका छन्,‘सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनु हुँदैन।’ भट्टराईले भेडा भेडासँग बाख्रा बाख्रासँग हुनु राम्रो भएको टिप्पणी गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराई आलटाल नगरी अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सर्वसम्मतिले संसदबाट पारित गर्नुपर्ने अडान राख्दै आएका छन्।
उनले यस अगाडि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को दोहोरो चरित्र देखिएको टिप्पणी गरेका थिए। प्रचण्डले सार्वजनिक रुपमा एमसीसी संशोधन नगरी संसद्बाट अनुमोदन नहुने बताएपनि एमसीसी अनुमोदन गर्ने प्रतिबद्धता जनाउँदै वासिङ्टन डिसीस्थित एमसीसी मुख्यालयलाई पठाएको संवेदनशिल र अतिगोप्य पत्र सार्वजनिक भएपछि भट्टराईले प्रचण्डप्रति माछा देखे भित्र हात, सर्प देखे बाहिर हात भन्दै व्यङ्गय गरेका थिए।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।