सत्ता पक्षका ९८ सांसदले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोगको प्रस्ताव संसद सचिवालयमा दर्ता गराएपछि प्रतिपक्षी दल नेकपा एमाले तरंगित बन्यो । आइतबार साँझ नै बालकोटमा एमाले सचिवालयको बैठक बस्यो ।
‘छापामार शैलीमा महाअभियोग प्रस्ताव दर्ता भएको’ भन्दै एमाले नेताहरुले यसको कडा प्रतिवाद गर्ने प्रतिक्रिया दिए । सचिवालय बैठकले पनि चोलेन्द्रविरुद्ध दर्ता भएको महाभियोगको प्रतिवाद गर्ने निर्णय गर्यो ।
एमालेले काउण्टर प्रस्तावका रुपमा सोमबार नै सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गर्ने चर्चा चलेको थियो । संसद विघटनविरुद्धको मुद्दामा परमादेशको फैसला सुनाएका सर्वोच्चका चार न्यायाधीशविरुद्ध पनि सोमबार नै महाभियोगको प्रस्ताव दर्ता गर्ने अनुमान धेरैले गरेका थिए ।
तर, सोमबार दिउँसो बसेको एमाले संसदीय दलको बैठकले ‘एक कदम अगाडि, दुई कदम पछाडि’ हुने निर्णय गर्यो । चोलेन्द्रविरुद्ध दर्ता भएको महाअभियोगका सन्दर्भमा ‘पार्टी नेतृत्वले उपयुक्त निर्णय लिने’ बताउँदै एमाले संसदीय दलको बैठक सकियो ।
नेकपपा एमालेका नेता घनस्याम भुसालले हिजो भएको बैठकमा कडा प्रतिवाद गरेका छन् । भुसालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई दलाल पुँजीवादका प्रतिनिधि बताउँदै चोलेन्द्रलाई बोकेर नहिँड्न अध्यक्ष ओलीलाई आग्रह समेत गरेका छन् ।
सर्वोच्च अदालतमा पैसा लिएर मुद्दाहरूको छिनोफानो हुने गरेको सुनिएको बताउँदै भुसालले चोलेन्द्रलाई बोकेर एमालेले कसरी चुनाव जित्न सक्छ भन्ने प्रश्न गरे । चोलेन्द्रमाथि लागेको महाभियोगलाई एमालेमाथिको आक्रमणका रुपमा सामान्यीकरण गर्न नमिल्ने भुसालको तर्क थियो ।
एमालेले विगतमा लिएको गलत नीतिका कारण करङ भाँचिन थालेको बताउँदै भुसालले भने, अझै हाम्रो करङ भाँचिदैछ, अब हामी सबैले चेतौँ । चोलेन्द्रलाई बोकेर नहिँडौं ।’ बैठकमा केपी ओलीबाहेक एमालेका पदाधिकारीहरु कोही पनि बोलेनन् । बरु सांसद गोकुल बास्कोटा, महेश बस्नेत, खगराज अधिकारी लगायतले आफ्ना कुरा राखेका थिए । उनीहरुले महाअभियोगको जवाफमा काउण्टर महाअभियोग लगाउनुपर्ने बताएका थिए ।