सत्तारूढ दलका शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ।
छलफलमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल थिए।
उनीहरूबीच समसामयीक राजनीति, एमसीसी र स्थानीय चुनावका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालय स्रोतले सेतोपाटीलाई जानकारी दियो।
प्रधानमन्त्री देउवालाई भेट्न दाहाल र नेपाल बिहीबार बिहान बालुवाटार पुगेका थिए।
यसअघि आजै बिहान सत्तारूढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच खुमलटारमा भेट भएको थियो।
अध्यक्ष दाहाललाई भेट्न बिहीबार बिहान कोइराला दाहाल निवास खुमलटार पुगेका थिए। कांग्रेस नेता अमरेशकुमार सिंहका अनुसार दाहाल र कोइरालाबीच अमेरिकी सहयोग परियोजना एमसिसी र स्थानीय तहको चुनावमा गठबन्धन बारे छलफल भएको थियो।
प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालले यसअघि सामुहिकरुपमा एमसीसीलाई पत्राचार गर्दै फेब्रुअरी २८ भित्र संसद्बाट एमसीसी अनुमोदन गराउने वचन दिएका थिए। तर, माओवादी अध्यक्ष दाहाल त्यो प्रतिवद्धताबाट पछि हटिसकेका छन्।
यसैबीच अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले फेब्रुअरी २८ सम्म सम्झौता नेपालको संसदबाट पास नभए फिर्ता हुने सन्देश दिएको छ।
बुधबार साँझ भएको भर्चुअल अन्तर्क्रियामा बोल्दै एमसिसीकी उपाध्यक्ष फतिमा सुमारले नेपालमा एमसिसी कार्यान्वयन लागि आगामी तीन हप्ता निकै महत्वपूर्ण रहेको बताइन्।