काठमाडौं । दुई वर्षअघि २०७६ फागुन २८ गते काठमाडौंको राष्ट्रिय सभागृहमा कमल थापा अध्यक्ष रहेको राप्रपा र पशुपति शमशेर राणा तथा डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा संयुक्तबीच भव्य कार्यक्रमबीच एकता घोषणा भयो ।
उक्त घोषणा सभामा बोल्दै तत्कालीन अध्यक्ष थापाले राप्रपा कहिल्यै नफुट्ने दावी गरे । उनले ‘गीता’ हातमा लिएर पार्टी नफुटाउने कसमसमेत खाए । पटकपटक मिल्दै र फुट्दै गरेको इतिहास सम्झदै थापाले भने– ‘पार्टीलाई माया गर्ने साथीलाई साक्षी राखेर प्रतिज्ञा गर्दछौं । म कहिल्यै पनि पार्टी फुटाउने छैन । तपाईंहरूलाई विश्वास लागेन ? मैले गीता ल्याएको छु । यो गीता हातमा राखेर म भन्छु, राप्रपा फुट्दैन ।’
तर, थापाको उक्त कसम दुई वर्ष पनि टिकेन । थापाले आज हेटौँडामा पत्रकार सम्मलेन गर्दै पार्टी परित्याग गरेको घोषणा गरे । उनले भने- ‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले पार्टीबाट अलग हुने निर्णय लिएको छु । पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने चाहना भएतापनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएँ ।’
गत मंसिर १५ देखि काठमाडौंमा भएको महाधिवेशनलाई राप्रपाले एकता महाधिवेशन भनेको थियो। एकता भनिएको त्यही महाधिवेशन नै अहिले फुटको संघारमा पुर्याउन कारक बनेको छ। महाधिवेशनको नतिजालाई निवर्तमान अध्यक्ष कमल थापाले स्वीकार्न नसक्दा राप्रपा फेरि फुटनजिक पुगेको हो। पार्टी अध्यक्षमा पराजित हुने बित्तिकै थापाले अब पार्टी बिभाजन गर्छन भन्ने हल्ला सर्बसाधारणबीच ब्याप्त थियो जुन अहिले सत्य साबित भएको छ ।
सदैब पार्टी नेतृत्वमा बस्न रुचाउने थापा आफ्नो हारको सम्पूर्ण दोष पुर्व राजालाई लगाउने लगायतका अनेकन गतिबिधि गरेपछी अन्तत पार्टी बिभाजन सम्ममा पुगे ।आफु र आफ्नो नेतृत्व बाहेक अरु स्वीकार्य नहुदा समेत यो समस्या आएको सर्बसाधारणको बुझाई छ ।उनको पार्टी परित्याग घोषणाले सकारात्मक भन्दा नकारात्मक प्रतिक्रिया धेरै आएको सामाजिक संजालबाट प्रस्ट देखिन्छ ।
लामो समयदेखि आलोचित बन्दै आएका थापाको पार्टी परित्याग गर्ने निर्णय थप आलोचनाको विषय बनेको छ । गीता छोएर खाएको कसमको इज्जत राख्न नसकेको टिप्पणी हुन थालेको छ । आजका दिनसम्म थापाले स्थापित गरेको राजनीतिक छवि र प्रतिष्ठा थापा आफैले धुलिसात बनाएका छन् ।