शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

सहमतिबिना एमसीसी अगाडि बढाए गठबन्धन स्वतः समाप्त – देव गुरुङ


  • मंगलबार, माघ २५ २०७८
9.7K
SHARES

फाईल तस्बिर

नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङले आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्दा स्थानीय तह निर्वाचनसम्बन्धी ऐन संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

नेता गुरुङले कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअगावै निर्वाचन गरिसक्नुपर्ने ऐनको व्यवस्था भएकाले वैशाख ३० गते निर्वाचन गर्दा पनि कानुनी जटिलता हुन सक्ने बताएका हुन् ।

उनले सम्भव भएमा वर्तमान ऐन संशोधन गर्नुपर्ने र संसद् अवरोधका कारण ऐन संशोधन सम्भव नभएमा संविधानको व्यवस्थाअनुसार कार्यावधि सकिएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने धारणा व्यक्त गरे । ऐन र संविधान बाझिएको अवस्थामा मूल कानुन भएका हिसाबले संविधानको व्यवस्थाअनुरूप नै निर्वाचन गर्नुपर्नेमा उनले जोड दिए ।
राष्ट्रियता र संविधानको रक्षाको निम्ति वर्तमान सत्ता गठबन्धन बनेको भन्दै उनले सो मुद्दाहरू यथावत् रहेकाले स्थानीय निर्वाचनमा पनि गठबन्धन कायम राख्नुपर्ने बताए । यद्यपि, स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा भने सल्लाह गर्न बाँकी नै रहेको उनले स्पष्ट पारे ।

उनले अमेरिकी अनुदानसम्बन्धी सम्झौता (एमसीसी) यथास्थितिमा अनुमोदन नहुने पनि स्पष्ट पारे । सो परियोजना संशोधनसहित राष्ट्रिय सहमतिमा मात्र अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे । संशोधन नभएसम्म संसद्मा टेबुल नहुने उनको भनाइ छ ।

एमसीसीका विषयमा वर्तमान गठबन्धन रहँदासम्म गठबन्धनमा सहमति गरेर जानुपर्ने उनले उल्लेख गरे । प्रधानमन्त्रीले गठबन्धनको सहमतिबिना एमसीसी परियोजना अगाडि बढाए गठबन्धन स्वतः समाप्त हुने उनले उल्लेख गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा