नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले अमेरिका सहयोग परियोजना एमसीसी पन्छाएर गठबन्धन नजोगाउने बताएका छन् ।
बुधबार सञ्चारमाध्यमसँगको कुराकानी नेता विश्वकर्माले राष्ट्रिय सरोकारका विषय एमसीसीलाई पन्छाएर गठबन्धन जोगाउन तर्फ कांग्रेसको चासो नरहने बताएका हुन ।
उनले राष्ट्रिय सरोकारको विषय एमसीसी परियोजनालाई यथास्थितिमा राखेर गठबन्धन जोगाइराखेमा जनताले सत्तारुढ दलहरूलाई नपत्याउने बताए ।
हामी गठबन्धनलाई साथसाथै लिएर राष्ट्रिय सरोकारका मुद्दाहरूलाई टुंगोमा पुर्याउन चाहन्छौं,’ उनले भने, ‘कथम् कदाचित यी मुद्दाहरूलाई पन्छाएर गठबन्धन जोगाऔँ भन्यो भने हाम्रो त्यतातिर खासै चासो रहँदैन, त्यो अवस्थामा एक्लैले सरकार नबनेपछि निर्वाचन अगाडि आउँछ ।’
मुलुकलाई कुनै न कुनै गठबन्धनबाट भए पनि निकास दिनुपर्ने अवस्थाको बारेमा पनि आफूहरूले सोचेको उनको भनाइ छ ।
‘त्यसैले कुनै न कुनै गठबन्धनबाट भएपनि मुलुकको राजनीतिलाई निकास दिनुपर्छ,’ उनले भने, ‘मुलुकका राष्ट्रिय सरोकारका विषयहरुलाई निकास दिनुपर्छ । हामी त्यो बारेमा पनि सोच्दैछौं ।’
नेता विश्वकर्माले अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत अप्ठ्यारो पार्नेगरी एमसीसीको विषयलाई गिजोलिएको बताएका छन् । एमसीसी परियोजनासँग संलग्न राजनीतिक दलहरूले नै गलत प्रचारबाजी गरेर भ्रम सिर्जना गराएको उनको भनाइ छ ।
‘राजनीतिमा यस्तो बेइमानी र बठ्याइँ नहुनुपर्ने हो,’ उनले भने, ‘आफैँले प्रयास गरेर, आफैँले मागेर आफैँ प्रक्रियामा सामेल भइसकेपछि आएको परिणाममा यसरी विमती र फरक–फरक विचारधारा प्रस्तुत गरेर राष्ट्रिय राजनीतिको परिधिभित्र मात्रै छु भन्ने महशुस गरी अन्तर्राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत पनि अप्ठ्यारो पार्ने गरी जसरी यो विषय गिजोलियो, यो विषयलाई यसरी गिजोल्नु हुँदैन थियो ।’