नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले स्थानीय तहको निर्वाचनमा एमाले कसैसँग पनि गठबन्धन नगर्ने बताएका छन् ।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले स्तथानीय तहको चुनावी मैदानमा एमाले एक्लै जाने बताएका हुन् ।
उनले भने, ‘कुनै पनि खेलको मैदान होस या निर्वाचनको मैदानमा जाने कुरा होस, जुन शक्ति आफ्नो एजेण्डामा क्लियर र विश्वस्त छ, त्यो शक्ति ढुक्कसँग मैदानमा जान्छ । जुन शक्ति कमजोर छ, त्यो मैदानमा जान डराउँछ अनि जलझेल गर्छ। एमाले मात्रै विश्वस्तका साथ निर्वाचनमा एक्लै जान चाहन्छ ।’
उनले मुलुकको राजनीतिक गतिरोध अन्त्यको लागि एमाले सकारात्मक भएको बताउँदै पछिल्लो समय आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवासमा वार्ता गर्ने स्थिति बन्नुलाई चित्रण गरे ।
उनले भने–‘राजनीतिक परिस्थितिलाई सहजीकरण गर्ने सन्दर्भमा, एमसीसीमा साझा दृष्टिकोण बनाउने सन्दर्भमा र निर्वाचनलगायतका दायित्वमा एमाले लचिलो छ । एमाले बाधा बन्दैन। एमसीसीको सन्दर्भमा पनि एमालेले आफ्नो धारणा किञ्चित पनि ढिला नगरी राख्छ । तर, सत्तापक्षले पहिला आफ्नो धारणा स्पष्ट पारोस्। सत्तापक्ष जनतामा भ्रम फैलाउने ढंगले नबढोस । एमाले यो मुलुकको उन्नति, प्रगति र संविधान कार्यान्वयनको निम्ति, लोकतान्त्रिक पद्धतिलाई विकास गर्न सहयोगी भूमिका खेल्न लचिलो हुन्छ ।’
उनले एमालेमाथि धेरै अनैतिक काम भएको स्मरण गराए । उनले भने,‘हाम्रो पार्टी फुटाउनको लागि दल विभाजनसम्बन्धी खुकुलो प्रावधान राखेर अध्यादेश ल्याउने काम भयो, एमाले सरकारले सुरुवात गरेका विकास निर्माणका काम अहिले अवरुद्ध भएका छन् । नियुक्तिहरु खारेज भएका छन् । भूमि आयोग भंग भएको छ, खेलकुद परिषद्, युवा कोषलगायतका नियुक्ति सरकारले खारेज गरेको छ ।’
एमालेलाई कमजोर गर्ने षड्यन्त्रमा अहिलेको सरकार लागिपरेको उनको आरोप छ । उनले भने, ‘हामी सबै कुरा सहेरपनि मुलुकलाई निकास दिन लचक छौं । एमालेलाई पेलेर वा च्यापेर पछि लगाउँछु भन्ने नसोचे हुन्छ ।’