शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

मन्त्रिपरिषद्को बैठक बालुवाटारमा शुरु


  • सोमबार, माघ २४ २०७८
9.5K
SHARES

प्रधानमन्त्री शेर बहादुर देउवा । तस्विरः फाइल

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको मन्त्रिपरिषद् बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहि समयअघि मन्त्रिपरिषद्को बैठक शुरु भएको हो ।

आज बस्ने मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने प्रवल सम्भावना रहेको छ । आइतबार बसेको तीन दलको बैठकमा प्रधानमन्त्री देउवाले अबको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने बताएका थिए ।

निर्वाचन आयोगले सरकारलाई आगामी जेठ ४ गते बुधबार स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी मिति तोक्न परामर्श दिएको थियो । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रमुख निर्वाचन आयुक्तसहितको टोलीले २०७४ वैशाख ३१ गते, असार १४ गते र असोज २ गते गरी तीन चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारीको पदावधि जेठ ५ मा समाप्त हुने भएकाले सोअगावै निर्वाचन गर्नुपर्ने विषय जानकारी गराएको थियो ।

नेपालको संविधानको धारा २१५ को उपधारा (६), धारा २१६ को उपधारा (६), धारा २२० को उपधारा (५) तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ र दफा ५५ बमोजिम सम्पन्न गर्नु सरकार तथा निर्वाचन आयोगको संवैधानिक एवं कानुनी दायित्व रहेको व्यहोरा अवगत गराएको थियो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले आयोगको परामर्शअनुसार प्रस्तावित मितिमा एकै चरणमा स्थानीय तहको निर्वाचन गर्न आवश्यक प्रक्रिया पूरा गरी निर्वाचनको मिति तोकिने जानकारी गराएका थिए ।

उनले स्थानीय तहको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारीका कार्य गर्न निर्वाचन आयोगलाई आग्रह गर्दै गृह मन्त्रालयलाई आवश्यक सुरक्षा बन्दोबस्त मिलाउनसमेत निर्देशन दिएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा