शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

प्रदेश १ मा बन्यो १४ सदस्यीय मन्त्रिपरिषद्, नयाँ मन्त्रीले लिए शपथ


  • आइतबार, माघ २३ २०७८
12.3K
SHARES

फाइल तस्विर

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रिमण्डल १४ सदस्यीय बनाएका छन् । उनले आइतबार आठजनालाई नयाँ मन्त्री नियुक्त गरे । यसअघि १ राज्यमन्त्रीसहित ६ सदस्यी मन्त्रिपरिषद् थियो । ८ जना नयाँ मन्त्री नियुक्त भएपछि प्रदेश १ मा १४ सदस्यीय मन्त्रिपरिषद् बनेको छ । जसमा १ राज्यमन्त्री र १३ जना मन्त्री छन् । नयाँ थपिएका मन्त्रीले आइतबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मुख्यमन्त्री नियुक्त भएको ३ महिनापछि राईले गठबन्धनभित्रका कांग्रेस र नेकपा (एकीकृत समाजवादी)बाट ३–३ तथा नेकपा (माओवादी केन्द्र)बाट २ जनालाई आइतबार नयाँ मन्त्री नियुक्त गरेका हुन् ।

कांग्रेसबाट मोरङका शेखरचन्द्र थापा, झापाका ओमप्रकाश सरावगी, ताप्लेजुङका प्रतापप्रकाश हाङ्गाम, नेकपा (एकीकृत समाजवादी)बाट मोरङका उपेन्द्र घिमिरे, खोटाङका राजन राई र इलामकी खिनु लङ्वा लिम्बू तथा माओवादीबाट खोटाङका रामकुमार राई र झापाका झलकबहादुर मगर मन्त्रिपरिषद्का नयाँ सदस्य हुन् ।

कांग्रेसका थापाले थापालाई वन, वातावरण तथा भूसंरक्षण, सरावगीले उद्योग, श्रम तथा रोजगार र हाङ्गामले भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् । नेकपा एसका घिमिरेले यातायात व्यवस्था तथा सञ्चार, राईले सामाजिक विकास र लिम्बूले पर्यटन तथा संस्कृति मन्त्रालय सम्हाल्ने अवसर पाए । माओवादीका राई सिँचाई, खानेपानी तथा उर्जा र मगर कृषि मन्त्री बनेका छन् ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो र आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की यथावत छन् । आङ्बो माओवादी केन्द्र र कार्की कांग्रेसबाट मन्त्री बनेका हुन् ।

यसअघि सामाजिक विकास मन्त्री रहेका जयराम यादवलाई स्वास्थ्य मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्री रहेका हिमाल कार्कीलाई सडक, पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । यादव जनता समाजवादी पार्टी (जसपा) र कार्की कांग्रेसबाट मन्त्री बनेका हुन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णुमाया तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री नै रहिन् ।

सत्तारुढ दललाई मन्त्रालयको भागबन्डा पुर्‍याउन प्रदेश सरकारले ७ बाट मन्त्रालय विभाजन गरेको थियो । गत आइतबार विभाजन गर्दै मन्त्रालयको संख्या १२ बनाइएको थियो । फेरि भागबन्डा नपुगेपछि एउटा थपेर मन्त्रालयको संख्या १३ पुर्‍याइएको छ ।

कांग्रेसलाई ४ वटा मन्त्रालय दिने तयारी मुख्यमन्त्री राईको थियो । तर कांग्रेसले ५ वटा मन्त्रालयको दाबी नछाडेपछि बढाएर मन्त्रालयको संख्या १३ पुर्‍याइएको स्रोतले बतायो । नेकपा (एकीकृत समाजवादी)का नेता राई गत कात्तिक १६ गते प्रदेशको मुख्यमन्त्री बनेका हुन् । उनले सोही दिन ५ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए । त्यतिबेला कांग्रेसबाट २, माओवादी र जसपाबाट १–१ जना मन्त्री बनेका थिए । राईले १ जना राज्यमन्त्री पनि बनाएका थिए ।

मन्त्रिपरिषद् विस्तारपछि कांग्रेसका ५, नेकपा (एकीकृत समाजवादी)का ४, माओवादीका ३, जसपाका १ मन्त्री तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट १ जना राज्यमन्त्री बनेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा