प्रमुख प्रतिपक्षी दल एमालेले चुनाव घोषणा गर्न दबाब दिने भएको छ । सरकारलाई तत्काल निर्वाचन घोषणा गर्नुपर्ने माग गर्दै आलटाल गरे सङ्घर्ष गर्ने चेतावनी समेत दिँदै आएको छ ।
स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारले ‘आलटाल’ गरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ‘जनदबाब र संघर्ष’ को रणनीति अघि सार्ने भएको छ । माघ १९ गते बुधबार बस्ने पार्टी केन्द्रीय सचिवालय बैठकमा छलफल गरेर संघर्षका कार्यक्रम सार्वजनिक गर्ने एमालेले तयारी गरेको हो ।
उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सचिवालय बैठकमा हुने छलफलका आधारमा पार्टीले भावी कार्यक्रम र एजेण्डा तय गर्ने बताए । ‘सरकारले बहानाबाजी गर्न खोज्यो भने पार्टी आफै पनि संघर्षमा उत्रिन्छ । अहिले हामीले जनसंगठनहरूलाई उतारेका छौँ, त्यसपछि आवश्यकता अनुसार अघि बढ्छौँ,’ ज्ञवालीले रातोपाटीसँग भने, ‘यो हप्ताभित्र पनि मिति घोषणा भएन भने आन्दोलनको विकल्प छैन ।’
अहिले कोरोनाका कारण सचिवालय बैठकमार्फत निर्णयमा पुग्ने तयारी भएको उनले बताए । एमाले केन्द्रीय सचिवालयमा केन्द्रीय अध्यक्षसहितका पदाधिकारी रहने व्यवस्था छ । एमालेमा हाल अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्षहरू ६,उपमहासचिव ३ र सचिव ७ गरी १९ जनाको सचिवालय रहेको छ ।
‘नेकपा एमाले संविधानअनुसार स्थानीय तहको निर्वाचन तत्काल घोषणा होस् भन्ने चाहन्छ, यो कुरा पार्टीले पटक पटक भन्दै आएको पनि छ तर सरकारले आलटाल गरिरहेको अवस्था छ’, ज्ञवालीले भने, ‘कुनै पनि बहानामा निर्वाचन टार्ने विषय एमालेलाई स्वीकार्य छैन ।
सचिवालय बैठकअघि सोमबार बसेको सो पार्टीको केन्द्रीय कार्यालय बैठकले सचिवालयमा छलफल गर्ने एजेण्डा तय गरेको छ । महासचिव शंकर पोखरेलको नेतृत्वमा बसेको उक्त बैठकले सरकार अझैपनि समयावधिभित्र स्थानीय निर्वाचन गर्न तयार नभएको निष्कर्ष निकालेको थियो । सोही बैठकले सचिवालयमा छलफल गर्ने एजेण्डा समेत तय गरेको छ ।