शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

एमाले अध्यक्ष ओलीविरुद्ध उजुरी, कोरोना संक्रमित हुँदाहुँदै रोग फैलाउन सहयोग गरेको’ आरोप !


  • मंगलबार, माघ १८ २०७८
8.1K
SHARES

फाइल तस्विर

एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी परेको खबर बाहिरिएका छन् । ओली आफै कोरोना सङ्क्रमित हुँदाहुँदै भीडमा गएर रोग फैलाउन सहयोग गरेको भन्दै उनी विरुद्ध आइतबार उजुरी परेको बताइएको छ ।

ओली कोरोना संक्रमण भएको चौथो दिनमा गत माघ १२ गते सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए । उनलाई माघ ९ गते कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरिएको थियो ।

एमालेको भ्रातृ संगठन युवा संघले माघ १२ गते आयोजना गरेको रक्तदान कार्यक्रममा कोरोना संक्रमित ओली पुगेका थिए । युवा संघले भक्तपुर बालकोटस्थित ओलीको निवास नजिकै रक्तदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा सांसदसमेत रहेका एमाले स्थायी कमिटी सदस्य गोकुल बाँस्कोटा, युवा संघका इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य महेश बस्नेत, युवा संघका अध्यक्ष किरण पौडेललगायत दर्जनौं नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले माघ ६ गतेदेखि कोरोना संक्रमण फैलिन नदिनका लागि एक आदेश जारी गरेको थियो । आदेशमा कोरोनाको लक्षण देखिए पनि ५ दिन क्वारेन्टिनमा बस्न भनिएको छ ।

‘जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड-१९ को लक्षण देखिएमा अनिवार्य रूपमा पाँच दिन क्वारेन्टिन बस्ने र ५ दिनिपछि कोभिड- १९ परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा मात्र काममा आउने,’ आदेशमा भनिएको छ । त्यस्तै, आदेशमा कुनै पनि प्रकारका आमसभा, जुलुस, सभा, भेला, मेला लगायतका कुनै पनि गतिविधि गर्न प्रशासनले रोक लगाएको उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि कोरोना संक्रमण पुष्टि भएका वा संक्रमणको लक्षण देखिएकाहरूलाई कम्तिमा पनि सात दिन आइसोलेसनमा बस्न हरेक दिन अनुरोध गरिरहेको छ । हाल नेपालमा तेस्रो लहरको कारक बनेको कोरोनाको ओमिक्रोन भेरिएन्ट सबैभन्दा बढी संक्रामक रहेको पुष्टि भइसकेको छ । जसका कारण दिनहुँ परीक्षण गराउनेमध्ये झण्डै आधाको रिपोर्ट पोजिटिभ आउने गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा