हिन्दूधर्मअनुसार, मंगलबार गणेश भगवानको पूजाआराधना गरिन्छ ।साथै यस दिन काली माता, दुर्गा माता र हनुमानको पनि पूजा गरिन्छ । यस दिन व्रत बस्दा बिहानको खाना खानु हुँदैन भने साँझको खानामा नुन मिसाउनु हुँदैन ।सबै किसिमको सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रु दमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मंगलबारको व्रत उत्तम मानिन्छ ।
।यो व्रत शुक्ल पक्षको पहिलो मंगलबारबाट शुरु गर्नु राम्रो मानिन्छ । यो व्रत कम्तिमा २१ वटा मंगलबारसम्म लिने प्रचलन छ भने सकेसम्म जीवनभरी नै लिए अझ राम्रो हुन्छ ।हिन्दू धर्म अनुसार भगवान् गणेशलाई सर्वश्रेष्ठ देवताको रुपमा मान्ने गरिन्छ । गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायकको रुपमा पूजा गर्ने गरिन्छ।
विशेष गरेर गणेश भगवानको पूजा मंगलबार हुने गरे पनि हरेक दिन सबैभन्दा पहिले गणेशजीको पूजा गरेपछि मात्र अन्य देवतालाई पूज्ने चलन रहिआएको छ । मंगलबार भगवान गणेशको नाममा वर्त बस्ने र मन्दिर गएर विधिवत रुपमा गणेशजीको पूजा गर्ने गर्छन। मंगल ग्रहलाई समस्याको निर्माता मानिने भएकाले यसको खराब प्रभावलाई जोगाउनको लागी पनि यस दिन वर्त बसी विधिवत रुपमा भगवान गणेशको पूजा आराधना गर्ने गरिएको हो ।
गणेशजीको आराधना कसरी गर्ने ?
बिहानको समयमा मैनबत्ती या दीप बाल्नुहोस् । बिहानको ध्यान गर्नुहोस् । केही धार्मिक ग्रन्थहरु पढेर आफ्नो दिनको सुरुवात गर्नुहोस् । जब बेलुका घर पुग्नुहुन्छ । हातखुट्टा धुनुहोस् । कपडा फेर्नुहोस् अनि चोखो खाना (प्रसाद) बनाउनुहोस् । जस्तै हलुवा, खिरलगायतका खाना ।
खाना (प्रसाद) प्रेम र सद्विचार अथवा कुनै मन्त्र उच्चारण गर्दै बनाउनुहोस् । यो मनन् गर्नुहोस् कि, व्रत या अन्य बेला खाना बनाउँदा पूर्ण रुपमा त्यसमा ध्यान दिनुहोस् र प्रशन्न मन लिएर बनाउनुहोस् अनि मात्र खानाखाने मान्छेको आत्मा तृप्त हुन्छ ।
जब खाना (प्रसाद) तयार हुन्छ, ध्यान अथवा पूजा गर्ने ठाउँमा फलफूल र प्रसाद राख्नुहोस् । पूजास्थानमा दीप, मैनबत्ती या अगरबत्ती बाल्नुहोस् । प्रकाशलाई स्वयं भगवान्को उपस्थिति मानिन्छ । यसले ज्ञान र बुद्धि प्रदान गर्छ । फूल, फल र सुगन्ध विश्व, ब्रह्माण्ड शक्तिको भेट मानिन्छ । त्यसपछि परिवार, साथीभाइ वा एक्लै बसेर भगवान्को आरती गर्न सकिन्छ । त्यस समयमा भागवत् गीतालगायत आफ्नोअनुसारको धार्मिक ग्रन्थको अध्याय पढ्न सक्नुहुन्छ । अथवा फेरि भजन गाउँदै प्रार्थना गर्न सकिन्छ ।
व्रतको दिन के खाने ?
व्रतको दिन कुनै ठोस खाना नलिनुहोस् । रातको समयमा ५ बजेपछि हल्का खाना (खीर, हलुवा, भात र सागसब्जी) खान सक्नुहुन्छ ।
यदि स्वास्थ्यका कारण दिनभर निराहार व्रत बस्न सम्भव छैन भने कमजोरी हुनुहन्छ भने यातफेरि अत्यधिक टाउको दुख्यो भने दूध र फलफूल लिन सक्नुहुन्छ । त्यस्तै जडीबुटीको चिया वा पानी पनि पिउन सक्नहुन्छ ।
गणेशजीलाई लड्डु मनपर्ने बारेमा पद्मपुराणमा भनिएको कथा :
परापूर्वमा पार्वतीलाई देवताहरुले अमृतबाट तयार पारिएको एउटा दिव्य लड्डु दिए । लड्डु देखेर कुमारजी र गणेशजीले मातासँग जिद्दी गरेर लड्डु माग्न थाले । तब माताले लड्डुको महत्त्वको वर्णन गरेर भन्नुभयो कि तिमीहरुमध्ये जसले धर्माचरणद्वारा श्रेष्ठता प्राप्त गरेर सर्वप्रथम सबै तीर्थको जसले भ्रमण गरेर आउँछ म उसैलाई यो लड्डु दिन्छु ।
माताको यस्तो कुरा सुनेर कुमारले मयूरमा सवार भएर मुहूर्तभरमा सबै तीर्थको स्नान गरेर आउनुभयो । यता गणेशजी भने आफ्नो वाहन मुसा भएका कारण तीर्थ भ्रमण गर्न असमर्थ हुनुभयो । तब गणेशजीले श्रद्धापूर्वक माता–पितालाई परिक्रमा गरेर पिताजीको अगाडि उभिनुभयो ।
यो देखेर माता पार्वतीले भन्नुभयो “सबै तीर्थमा गरेको स्नान, सबै देवतालाई गरेको नमस्कार, सबै यज्ञको अनुष्ठान तथा सबै प्रकारको व्रत, मन्त्र, योग र संयमको पालन यी सबै साधनाहरु मातापिताको पूजाको सोह्रअंशको बराबर पनि हुन सक्दैन ।”
त्यसकारण गणेशजी सयौं पुत्रहरु र सयौं गणहरुभन्दा पनि धेरै हुनुहुन्छ । त्यसैले उहाँलाई गणनायक पनि भनिन्छ । पार्वतीमाताले भन्नुहुन्छ अतः यो लड्डु म गणेशलाई दिन्छु । त्यसकारण यो लड्डुसँग माता–पिताको भक्ति पनि जोडिएको छ । हामीले गणेश भगवानलाई लड्डु अर्पण गरेर चढाउँदा यो उहाँले गर्नुभएको माता–पिताप्रतिको भक्ति भावलाई मनन गर्नु अत्यन्तै आवश्यक छ । उहाँको साथमा रहने लड्डु यसैको प्रतीक हो ।
‘ग’ को अर्थ बुद्धि र ‘ण’ को अर्थ ज्ञान हुन्छ । तसर्थ गणेश भगवान बुद्धि र ज्ञानका प्रतीक हुनुहुन्छ ।