पाँच दलीय गठबन्धनको घेराबन्दीबीच प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रिय सभामा एक सिट जित्न सफल भएको छ। १९ सांसदको चार वर्षे कार्यकाल सकिएपछि बुधबार भएको मतदानमा एमालेले प्रदेश १ बाहेक अन्य ६ प्रदेशमा भने ७ सिट गुमाएको छ।
राष्ट्रियसभामा अहिले एमालेको २४ सिट छ। तर सात सिट गुमाउँदा पनि ऊ पहिलो दलमै कायम रहने पक्का भएको छ। एमालेपछि राष्ट्रियसभामा माओवादीको १४, कांग्रेसको ७, एकीकृत समाजवादी ७, जनता समाजवादी २, लोकतान्त्रिक समाजवादी पार्टीको १ सिट छ। बाँकी ३ जना राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ।
तीमध्ये चार वर्षे कार्यकाल पूरा गरेका १९ सदस्यका लागि बुधबार मतदान भएको थियो। सात प्रदेशमा सात महिला, तीन दलित, दुई अपांगता तथा अल्पसंख्यक र सात अन्य क्लस्टर गरी १९ सदस्यका लागि ४३ जना प्रतिस्पर्धामा थिए।
जसमा एमालेबाट प्रदेश १ मा अल्पसंख्यकतर्फ सोनम ग्याल्जेन शेर्पा विजयी भए। यससँगै गठबन्धनले यो निर्वाचनमा एमालेलाई क्लिन स्विप गर्न बनाएको योजना पनि विफल भएको छ।
रोचक त के छ भने राष्ट्रिय सभा निर्वाचनमा ७ सदस्य गुमाएर पनि एमाले पहिलो दलमै कायम छ। नेकपा भंग र एमाले पनि विभाजित हुँदा २४ सदस्यसहित एमाले पहिलो दल नै थियो।
एमालेलाई पहिलो दलमा रोक्न बनाइएको कांग्रेस नेतृत्वको गठबन्धनको प्रयास प्रदेश १ मा सफल भएन। जसकारण सात सिट गुमाएर पनि एमाले १७ सदस्यसहित पहिलो दलमै कायम रहेको छ।
निर्वाचनमा नेपाली कांग्रेससहितको माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन बनेको छ। एमालेले गुमाएको सात सदस्यमा नेपाली कांग्रेसले तीन, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले समान १–१ र जसपाले १ सदस्य जितेका छन्।
एमालेबाट अगमप्रसाद बान्तावा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेलको चार वर्षे पदावधि सकिएको थियो।
सात सिट गुमाए पनि राष्ट्रिय सभामा एमालेका १७ सदस्य बाँकी छन् । तर, एकैपटक सात सदस्य गुमाएर पनि राष्ट्रिय सभामा एमाले नै पहिलो दल बनेको हो।