बुधबार, जेष्ठ ११ २०७९
ताजा अपडेट

बैङ्कमा कोरोनै-कोरोना ६ हजार कर्मचारीमा सङ्क्रमण, सबै बैङ्क शाखाहरूमा कोरोनाले जमायो डेरा !


  • KTM Khabar
  • आइतबार, माघ ९ २०७८
1.5K
SHARES

फाईल तस्बिर

कोरोना महामारी अहिले नेपालमा बढ्दो देखिएको छ । तेस्रो लहरका कारण देशभरको बैङ्किङ तथा वित्तीय सेवा झनै प्रभावित बनेको छ । बैङ्कका कर्मचारीहरूमा संक्रमण दर उच्च छ ।  बहुसङ्ख्यक कर्मचारी सङ्क्रमित भएपछि बैङ्कहरूका थुप्रै  शाखाले त सेवा नै बन्द गर्नु पर्ने स्थिति छ ।

नेपाल बैंकर्स संघको तथ्यांकअनुसार राष्ट्रिय वाणिज्य बैंकका १६ वटा शाखा कार्यालयहरु कोरोना संक्रमणका कारण पूर्ण बन्द रहे । राष्ट्रिय वाणिज्य बैंक आफैले दिएको जानकारी अनुसार आइतबार पनि १५ वटा शाखा कार्यालयहरु पूर्ण रुपमा बन्द रहनेछन् । प्रदेश १ को विराटनगर र बसन्तपुर शाखा बन्द छन् भने मधेश प्रदेशका कठौंना, ईश्वनाथ, राजविराज र लाहान शाखा बन्द छन् ।

यसैगरी बागमती प्रदेशका भरतपुर, कोटेश्वर, बलम्बु साथै गण्डकी प्रदेशका भच्चेक, फलेवास, बेनी, कुश्मा, आबुखैरेनी, तालचोक शाखा कार्यालयहरु आइतबार बन्द छन् । सुदुरपश्चिम प्रदेशको मंगलसेन शाखा कार्यालय समेत आइतबार बन्द रहने बैंकले वेबसाइटमार्फत जानकारी दिएको छ ।

नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माका अनुसार आइतबारसम्म करिब ६ हजार बैंकका कर्मचारीहरु संक्रमित छन् । विहीबारसम्मको तथ्यांकअनुसार ६७ शाखा कार्यालयहरु पूर्ण रुपमा बन्द थिए । तर आइतबार यो बढेर सय नाघेको कार्यकारी निर्देशक शर्माले बताए । बैंकका सबै कर्मचारीहरुलाई संक्रमण पुष्टि भएपछि ती शाखा कार्यालयहरुबाट बैंकिङ सेवा नै ठप्प छन् ।

हालसम्म नबिल बैंकको सबैभन्दा धेरै शाखा कार्यालयहरु बन्द छन् । संघले दिएको जानकारी अनुसार १९ वटा शाखा कार्यालयहरु कोरोनाका कारण बन्द गर्नु परेको छ । आइतबारको तथ्यांक भने अपडेट भइसकेको छैन । उता एनआईशी एशिया बैंकका पनि कतिपय शाखा कार्यालयहरु बन्द छन् । प्राइम कमर्सीयल बैंकको चावाहिल शाखा कार्यालय पनि बन्द छ । ग्लोबल आइएमई बैंकको बानेश्वरमा रहेको शाखा कार्यालय समेत बन्द गर्नु पर्ने अवस्थामा पुगेको थियो । यी बैंकहरु प्रतिनिधिमात्रै हुन् । सञ्चालनमा रहेका २७ वट वाणिज्य बैंकहरु सबै कोरोनाका कारण निकै ठूलो समस्यामा छन् । कतिपय शाखाहरुबाट पूर्ण सेवा नै बन्द गर्नु पर्ने अवस्थामा पुगेको छन् भने कतिपय बन्द हुने सम्भावना देखिएको छ ।

‘क’ वर्गका वाणिज्य बैंकहरुमात्रै होइन ‘ख’ वर्गका विकास बैंक, ‘ग’ वर्गका फाइनान्स कम्पनीहरु र ‘घ’ वर्गका लघुवित्तहरुमा समेत कोरोनाका कारण सेवा प्रवाहमा समस्या छ । विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष प्रद्युमन पोखरेल अहिले धेरै बैंकका कर्मचारीहरुमा संक्रमण देखिएको बताउँछन् । सकेसम्म उच्च सुरक्षा सावधानी अपनाएर विकास बैंकहरुले सेवा दिइरहेको उनले बताए ।

वाणिज्य बैंकहरु जस्तै केही विकास बैंकका शाखा कार्यालयहरु पनि संक्रमणका कारण बन्द गर्नुपर्ने अवस्था रहेको उनले बताए । कतिपय बैंकहरुमा कर्मचारी परिवर्तन गरेर पनि सेवा दिनु परेको उनले सुनाए ।

‘यतिसम्म छ की एउटा शाखामा संक्रमित भेटियो, उसलाई आइसोलेसनमा राखेर त्यहाँ अर्को कर्मचारी पठाइयो’  उनले भने, ‘ तर, त्यहाँ गएका कर्मचारीहरुमा पनि संक्रमण पुष्टि भयो ।’

अहिले धेरैलाई संक्रमणले समस्यामा पारेको भन्दै उनले सबैले जोगिएर काम गर्नुको विकल्प नरहेको सुनाए


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा