बुधबार, जेष्ठ ११ २०७९
ताजा अपडेट

अर्थतन्त्रमा गम्भीर अनिष्टको संकेत : एमाले


  • KTM Khabar
  • आइतबार, माघ ९ २०७८
2K
SHARES

फाइल तस्विर

प्रमुख प्रतिपक्षी दल एमाले अर्थतन्त्रका सूचकले भविष्यमा गम्भीर अनिष्टको संकेत गरेको ठहर गरेको छ । सरकारको कडा आलोचना गर्दै अध्यक्ष केपी शर्मा ओली आइतबार सार्वजनिक गरेको विज्ञप्तिमा यस्तो बेला अर्थमन्त्रालय पोलिसी सेटिङमा रहेको आरोप लाग्नु उचित नभएको उल्लेख छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको आर्थिक अवस्थाको विवरणले मुलुक आर्थिक संकटतिर उन्मुख भएको चिन्ताजनक तस्बिर प्रस्तुत गरेको समेत एमालले उल्लेख गरेको छ । दयनीय पुँजीगत खर्च, लगानीमा न्यूनता, बढ्दो बेरोजगारी र विकास खर्चमा कटौतीले नेपाललाई अल्पविकसित अवस्थाबाट स्तरोन्नति गर्ने अभियानमै नकारात्मक प्रभाव पार्न थालेको एमालेको आरोप छ ।

६ महिनाको अवधिमा कुनैपनि ठूला विकास परियोजनाहरू अघि बढेका नभएको एमालेको ठहर छ ।  प्रधानमन्त्री शेबहादुर देउबाले शुक्रबारको सम्बोधनमा जबर्जस्ती विकासका आँकडा प्रस्तुत गर्न खोज्दा समेत पूर्ववर्ती सरकारका पालामा सुरू गरिएका केही परियोजनाबाहेक कुनै नयाँ तथ्यांकहरू प्रस्तुत गर्न नसकेको एमालेले आरोप लगाएको छ ।

‘अर्थतन्त्रको चुनौतीपूर्ण यथार्थलाई प्रस्तुत गरेर समाधानको विकल्पमा बहस गर्नुको साटो उहाँ कृत्रिम आँकडाका भरमा ढाकछोप गर्न तल्लीन देखिनुभएको छ ,’ ओलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’ दयनीय पुँजीगत खर्च, लगानीमा न्यूनता, बढ्दो बेरोजगारी र विकास खर्चमा कटौतीले नेपाललाई अल्पविकसित अवस्थाबाट स्तरोन्नत गर्ने अभियानमा नकारात्मक प्रभाव पार्न थालेको छ ।’

उपभोक्ता मुद्रास्फिति (मूल्यवृद्धि) ६ वर्षयताकै उच्च बिन्दु (७.११ प्रतिशत) मा पुगेको तथ्य राख्दै एमालेले विज्ञप्तिमा गत वर्षको पहिलो पाँच महिनामा यस्तो मुद्रास्फिति २.९३ प्रतिशत मात्र रहेको दावी गरेको छ ।

घ्यू, तेल, दाल तथा गेडागुडी तथा पेट्रोलियम पदार्थको मूल्य आकाशिएको भन्दै एमालेले दुई वर्षअघि यसै अवधिमा आलुदेखि गोलभेंडासम्म विभिन्न तरकारीको मूल्य १५ देखि ४० प्रतिशतसम्म घटेको समेत दावी गरेको छ । सरकारले लिएको गलत नीतिका कारण निर्माण सामग्रीको थोक मूल्य १९.३४ प्रतिशत बढेको आरोप लगाइएको छ ।

सार्वजनिक पूर्वाधारको लागत बढेको, निजी निर्माण कार्यमा समेत लगानी कम भएकोले समग्रमा रोजगारी सिर्जनामा प्रत्यक्ष असर परेको र सरकार गठन भएको पहिलो पाँच महिनामै व्यापार घाटा  ५४.७ प्रतिशतले बढी ७ खर्ब ३५ अर्ब ४९ करोड पुगेको उल्लेख गरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा