शनिबार, साउन ९ २०८३
ताजा अपडेट

संघीयताको मर्म अनुसार मधेस प्रदेश नामाकरण : प्रचण्ड


  • बुधबार, माघ ५ २०७८
10.7K
SHARES

फाइल तस्विर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयताको मर्म अनुसार नै प्रदेश नं.२ को नामाकरण भएको बताएका छन्। उनले प्रदेश सभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र प्रदेशमुकाम/राजधानी जनकपुर बनाउन सफलता प्राप्त गरेकोमा बधाई दिएका हुन्।

उनले भनेका छन्, ‘हाम्रो पार्टीले उठाउदै आएको पहिचान सहितको संघीयताको मर्म अनुसार नै प्रदेश नं.२ को प्रदेश सभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र प्रदेशमुकाम/राजधानी जनकपुर बनाउन सफलता प्राप्त गरेकोमा माननीय प्रदेशसभाका सम्पूर्ण सदस्यहरु र मधेस प्रदेशका सबै न्यायप्रेमी जनसमुदायमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु।’

चार वर्षसम्मको रस्साकस्सीपछि सोमबार प्रदेश २ को नाम मधेस र स्थायी राजधानी जनकपुर तय भएको हो। १ सय ४ सांसदमध्ये ९९ जना मतदानमा सहभागी थिए। जनकपुर राजधानी हुनुपर्ने पक्षमा ७८ मत खसेको थियो। सभामुख सरोज यादवले यो प्रस्ताव दुईतिहाइभन्दा बढी मतले पारित भएको घोषणा गरेका थिए।

यस्तै, प्रदेशको नाम मधेस हुनुपर्ने प्रस्ताव पनि दुईतिहाइभन्दा बढी मतले पारित भएको हो। मतदानमा सहभागी ९९ सांसदमध्ये ८० जनाले यो प्रस्तावको पक्षमा मत दिएका थिए।

जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र माओवादी केन्द्रले यसलाई साझा प्रस्तावका रूपमा दर्ता गरेका थिए। जसलाई एमाले र नेकपा (एस)का सांसदले समर्थन गरेका थिए।

कांग्रेसका १९ सांसदले पार्टी निर्णयअनुसार विपक्षमा मतदान गरेका थिए। कांग्रेसले मिथिला–भोजपुरा नाम राख्नुपर्ने प्रस्ताव दर्ता गरेको थियो। बारा र पर्साका केही सांसदले भने ‘मध्य मधेस’ भनेर छुट्टै प्रस्ताव गरेका थिए।

राजधानी र नामसम्बन्धी पहिलो प्रस्तावमै दुईतिहाइभन्दा बढी मत जुटेपछि अन्य प्रस्ताव स्वतः खारेज भएको सभामुख यादवले बताए। संविधानको धारा २९५ (२) मा प्रदेशको नामकरण सम्बन्धित प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट हुने उल्लेख छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा