जिल्ला प्रशासन कार्यालय बैतडीले स्थानीय तहलाई बारअनुसार आलोपालो सेवा प्रदान गर्ने निर्णय गरेको छ । कोभिड–१९ को पछिल्लो नयाँ रुप ओमिक्रोनको सङ्क्रमण फैलिँदै गएपछि सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले प्रशासन कार्यालयले सेवाग्राहीलाई आलोपालो सेवा दिने भएको हो । यही माघ ७ गतेदेखि लागू हुने गरी पालिकाका नागरिकलाई बार अनुसार सेवा दिइने कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।
आइतबार शिवनाथ र पञ्चेश्वर गाउँपालिका, सोमबार मेलौली नगरपालिका र सिगास गाउँपालिका, मङ्गलबार दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिका, बुधबार सुर्नया गाउँपालिका, बिहीबार पाटन नगरपालिका र शुक्रबार दशरथचन्द नगरपालिकाका नागरिकलाई सेवा दिइने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ । पुर्चौंडी नगरपालिकाको हकमा भने इलाका प्रशासन कार्यालय हाटबाटै नागरिकता प्रदान गरिनेछ ।
प्रशासनमा सेवा लिन आउँदा खोपको पूर्ण मात्र लगाएको कार्ड वा कार्डको फोटो खिचेर ल्याउनुपर्ने तथा स्वास्थ्य मापदण्ड पूरा गर्नुपर्ने छ । कोरोनाको जोखिम बढ्दै गएपछि २५ जना भन्दा बढी मानिस एकै ठाउँमा भेला नहुन प्रशासनले सूचनामार्फत आग्रह गरेको छ ।
स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरी १२ देखि १७ वर्ष उमेर समूहका सबै बालबालिकालाई एक हप्ताभित्र खोप लगाइसक्नुपर्ने र त्यसको लागि कार्यतालिका बनाएर कार्यान्वयन गर्नुपर्ने सूचनामा उल्लेख छ । जिल्लामा हालसम्म कोरोनाबाट १९ जनाको ज्यान गइसकेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।