काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा एसबाट मन्त्री बनेका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको बदनामी सुरु भएको छ । खतिवडा दलालहरूको गिरोहको चंगुलमा फसेर कर्मचारीहरूको सरुवा गर्न थालेका हुन् ।
मन्त्री खतिवडाले दलालहरूको उक्साहटमा लागेर निर्वाचन आचारसंहिता विपरीत उच्च अधिकारीहरूको सरुवा गरेको आरोप छ । उच्च अधिकारीहरूको सरुवामा ठूलो आर्थिक चलखेल भएको आरोप छ ।
निर्वाचन आयोगले पुस २६ गतेदेखि आचारसंहिता लागू गरेको छ । आचारसंहिता लागू भएको एकदिन पहिला अर्थात पुस २७ गतेको मिति राखेर कर्मचारीहरूको सरुवा गरिएको आरोप छ ।
विवादमा आउने देखेर उनले निर्णयमा भने पुस २५ गतेको मिति राख्न लगाएको कर्मचारी प्रशासन शाखा निकट उच्च स्रोतले जनाएको छ ।
एकैदिन भएका निर्णयमा लुम्बिनी प्रदेशको स्वास्थ्य सचिव परिवर्तन भने रोकिएको छ । उक्त निर्णय स्वास्थ्यको प्रस्तावमा सामान्य प्रशासन मन्त्रालयले गर्नुपर्छ ।
सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता विपरीत भएको भन्दै रोकिदिएको छ । स्वास्थ्य आफैले गर्ने निर्णयमा भने कानूनको उलंघन गरेको छ ।
स्वास्थ्य मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको कार्यकारी अधिकारीमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीलाइ पठाएको छ ।
तीन महिना अगाडि औषधि व्यवस्था विभागको महानिर्देशक बनाइएका नारायणप्रसाद ढकाललाई औषधि प्रयोगशाला पठाइएको छ । ढकालको ठाउँमा भरत भट्टराइलाई ल्याएकोे छ । भट्टराई निकै जुनियर कर्मचारी हुन् ।
राष्ट्रिय क्षयरोग केन्द्रमा डा. श्रीराम तिवारीलाई पठाइएको छ । केन्द्रमा कार्यरत डा. प्रकाश साहलाई कर्णाली प्रदेश पठाइएको छ । एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सुधा देवकोटालाई केन्द्रीय कारागार पठाइएको छ । डा. देवकोटाको ठाउँमा डा. सञ्जय ठाकुरलाई ल्याइएको छ ।
संघीय मन्त्रालयले लुम्बिनी प्रदेश अस्पतालका चिकित्सक डा।राजेन्द्र खनाललाई प्रदेश स्वास्थ्य सचिव नियुक्ति गर्न सिफारीस गरेको छ । प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटालाई संघीय स्वास्थ्य मन्त्रालय तान्न सिफारीस गरेको छ । यो निर्णय निर्वाचन आचारसंहिताले रोकिएको छ ।
फर्जी मिति राखेर निर्वाचन आचारसंहिता विपरीत कर्मचारी सरुवा गर्ने स्वास्थ्यमन्त्रीमाथि कारबाही गर्ने चौतर्फी दबाव परेको छ । वीर अस्पतालमा बिरोध सुरु भएको छ । निर्वाचन आचारसंहिता विपरीत वीर अस्पतालमा डा।गुणराज लोहनी पठाएको भन्दै बिरोध सुरु भएको छ ।
प्रधानमन्त्री कार्यालयले कानून विपरीत गरिएको निर्णय हाललाई रोक्न निर्देशन दिएको बुझिएको छ । फर्जी मिति राखेर सरुवा गरेपछि डा. गुणराज लोहनी र भरत भट्टराई बाहेक अरुले पत्र बुझेका छैनन ।
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकटका स्वाथ्यमन्त्री खतिवडाले कांग्रेस निकटका उच्च कर्मचारीहरूलाई समय नपुग्दै जिम्मेवारीबाट हटाएर पैसा बुझाएका कम्युनिस्ट कर्मचारीको सरुवा गरेको आरोप छ ।