नेपालको राहदानी विश्वकै सबैभन्दा कमजोर सूचीमा परेको छ।
विश्वव्यापी नागरिकता तथा आवास परामर्शदाता कम्पनी हेन्ली एण्ड पाटनर्स (बेलायत) ले बुधबार सार्वजनिक गरेको सूची अनुसार नेपालको राहदानी विश्वका खराब १० राष्ट्रमा परेको छ।
अन्तर्राष्ट्रिय हवाई संघ (आईएटीए) को तथ्यांकका आधारमा सन् २०२२ मा गरिएको १११ वटा मुलुकमध्ये जापान र सिंगापुरको राहदानी सबैभन्दा शक्तिशाली भएको छ।
जापान र सिंगापुरको राहदानीबाहकले १९२ मुलुकमा अनअराइभल भिसा पाउँछन्।
यस्तै जर्मनी र दक्षिण कोरियाका राहदानी बाहकले १९० मुलुकमा सहजै आवतजावत गर्न पाउँछन्।
सार्वजनिक गरेको सूचीमा अमेरिका, बेलायत, इटाली, स्पेन, पोर्चुगल र स्वीजरल्याण्ड १० शक्तिशाली राहदानीमा परेका छन्।
त्यसैगरी अफगानिस्तानको राहदानी संसारकै कमजोर देखाएको छ। अफगानी राहदानी बाहकले विश्वका २६ देशमा मात्र अनअराइभल भिसा पाउँछन्। यस्तै इराक २८, सिरिया २९, पाकिस्तान ३१, यमन ३३, सोमालीया ३४, नेपाल र प्यालेस्टिनी क्षेत्रका मुलुकका राहदानी बाहकले विश्वका ३७ मुलुकमा अनअराइभल भिसा पाउँछन्। नेपालभन्दा उत्तर कोरियाको राहदानी शक्तिशाली सूचीमा परेको छ।
यस्तै दक्षिण एसियाली मुलुकमा माल्दिभ्स सबैभन्दा शक्तिशाली देखिएको छ। माल्दिभ्सका राहदानीबाहकले विश्वका ८८ देशमा सहजै आवागमन गर्न पाउँछन्।
यस्तै भारत ८३ औं शक्तिशाली मुलुकमा परेको छ। भारतका राहदानी बाहकले विश्वका विभिन्न ६० मुलुकमा अनअराइभल भिसा पाउँछन्। बंगलादेशको राहदानी ४१ देश, श्रीलंकाको राहदानी ४२ देश, भूटानका राहदानीबाहकले ५३ वटा देशमा अनअराइभल भिसा पाउन सक्छन्।
यी हुन् कमजोर राहदानी
उत्तर कोरिया- ३९
नेपाल र प्यालेस्टाइन- ३७
सोमालिया- ३४
यमन-३३
पाकिस्तान-३१
सिरिया-२९
इराक-२८
अफगानिस्तान-२६