राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पृथ्वीनारायण शाहले नेपाल एकीकरण नगरेको भए नेपाल पनि नरहने बताएका छन्।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल नरहेपछि शेरबहादुर देउवा प्रधानमन्त्री र विद्यादेवी भण्डारी राष्ट्रपति बन्न नपाउने उल्लेख गरेका छन्।
पृथ्वी नारायणको जन्मदिनमा आज विदा नदिएकोमा सरकारप्रति आक्रोश व्यक्त गर्दै लिङदेनले सडकबाटै दबाब दिएर राष्ट्रिय पर्वको रुपमा मनाउन बाध्य बनाउने दाबी गरेका छन्।
‘सरकारका उपेक्षा, घृणा र अकमर्यताका बावजुत पनि हामी सबैभन्दा माथि देश छ। देशभन्दामाथि अर्को केहि छैन।’ उनले भने, ‘आज त्यो दिन हो। जसले हामीलाई नेपाल देश दियो, नेपाली नाम र पहिचान दियो। त्यो राष्ट्रनिर्माता, एकीकरणकर्ता, एकीकरण अभियानको नेताको सम्झनामा सबै जुटेका छौं।’
लिङदेनले पृथ्वीनारायणको जन्मजयन्ती राष्ट्रिय पर्व मनाउन लाज मान्नेहरुबाटै देश आज सञ्चालित भएको भन्दै आक्रोश व्यक्त गरे। उनले प्रश्न गरे, ‘देश कुन दिशामा गइरहेको छ, देश कसको हातमा, कसको नेतृत्वमा परिरहेको छ रु’ उनले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवस र राष्ट्रिय पर्व बनाउन आजैबाट जनसंघर्ष, जनआन्दोलन, जनदबाबका काम आजबाटै लाग्ने उद्घोष गरे।
कार्यक्रममा हिन्दू राष्ट्र कायम गर, राप्रपा जिन्दावाद, श्री ५ बडामहाराज पृथ्वी नारायण शाह अमर रहुन् जस्ता नारा लगाएका थिए।