शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

नारायणहिटीमा ठेक्का प्रकरणमा नयाँ मोड, अब के गर्लान मन्त्रि आले ?


  • मंगलबार, पुष २७ २०७८
11.6K
SHARES

फाइल तस्विर

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् ।

कार्यकारी निर्देशक दाहालले मंगलबार समितिको कार्यालयमा राजीनामा बुझाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जानकारी दिए । दाहालले राजीनामाको एक प्रति आफूलाई पठाएको मन्त्री आलेले बताए । बतास समूहले सार्वजनिक खरिद ऐनविपरीत मिलेमतोबाट नारायणहिटीमा चमेनागृहसहित १४ रोपनी जग्गा ‘कौडीको मूल्य’ मा हात पारेको पर्यटन मन्त्रालयको छानबिनमा देखिएको थियो ।

मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा गत बुधबार गठित ‘नारायणहिटी दरबार संग्रहालयको परिसरमा क्यान्टिन क्याफेटेरिया सञ्चालनसम्बन्धी अध्ययन एवं छानबिन समिति’ ले पुरानो दरबारकालीन ऐतिहासिक बंकरसमेत होटल सञ्चालनका लागि बतास समूहले सम्झौतामा उल्लेख नै नगरी अतिक्रमण गरेको देखाएको छ ।

‘क्याफेटेरियाले प्रयोग गर्न पाउने क्षेत्रफल र स्थानको स्पष्ट सीमांकन नगरी’ संग्रहालयका कार्यकारी निर्देशक दाहालले आफ्नै तजबिजले बढी क्षेत्र दिएर थप निर्माण गर्न बतास कम्पनीलाई प्रोत्साहन गरेको देखिएको पनि समितिको ठहर छ ।

समितिले सोमबार पर्यटनमन्त्री आलेलाई प्रतिवेदन बुझाएको थियो । कार्यकारी निर्देशक दाहालले छानबिनका लागि सहज होस् भनेर आफूले राजीनामा दिएको दाबी गरेका छन् । ३० वर्ष पुरातत्व विभागमा आफूले काम गरेको र संग्रहालयमा काम गर्दा पनि आफूले कहिल्यै गलत नियतले कुनै पनि निर्णय नगरेको उनको जिकिर छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा