बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

सुन तस्करी प्रकरण : दुई लाख धरौटीमा छुटे गोरेका भाइ


  • बिहिबार, पुष २२ २०७८
5.3K
SHARES

फाइल तस्विर

साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका आरोपी रमेश उप्रेतीलाई जिल्ला अदालत मोरङले दुई लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।

बिहीबार थुनछेक बहसपछि न्यायाधीश भरत लम्सालको इजलासले उप्रेतीलाई दुई लाख रुपैयाँ धरौटीमा छाडने आदेश दिएको हो । उनी सुन तस्करी प्रकरणका मुख्य आरोपी चुणमणि उप्रेती गोरेका भाइ हुन् ।

मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उप्रेती अदालतको आदेशपछि बिहीबार धरौटीबुझाएर छुटेका छन् । आदेशपछि उप्रेती धरौटी बुझाएर छुटेको जिल्ला अदालत मोरङका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले बताए ।

सुन तस्करीको मुद्दामा जोडिएका उप्रेती युएईमा थिए । गत असोज १९ गते जिल्ला अदालतले सुन तस्करीको मुद्दामा पक्राउ परेका आरोपीहरुलाई सफाइ दिएपछि उप्रेती अदालतमा हाजिर हुनका लागि नेपाल आएका थिए । बुधबार ढिलोगरी अदालतमा हाजिर गराइएका उप्रेतीको बिहीबार थुनछेक बहस भएको थियो ।

२०७४ साल फागुन १९ गते मोरङ उर्लाबारीका शाक्यको हत्या अनुसन्धान गर्ने क्रममा सुन तस्करीको विषय बाहिर आएको थियो । अनुसन्धानपछि १९ बैशाख २०७५ सालमा ७७ जना विरुद्ध ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ मुद्दा दर्ता भएको थियो ।

७७ जना प्रतिवादीमध्ये पक्राउ परेका गोरेसहित ५६ जना प्रतिवादीले सुन तस्करी मुद्दामा सफाइ पाए । शाक्य हत्या प्रकरणमा भने गोरेसहित ८ जनालाई अदालतले दोषी ठहर गरेको थियो ।

अदालतले मोरङ उर्लाबारीका गोरे भनिने चुडामणि उप्रेती गोरे, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई ज्यान मुद्दामा जन्मकैदको सजाय सुनाएको थियो । हत्या अभियोगमा जोडिएका भारतीय नागरिक राजन कुमारलाई ३ वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजायको फैसला भएको थियो ।

जिल्लाको फैसला पछि फरार रहेका २१ मध्ये तीन जना अदालतमा हाजिर भएका छन् । हाजिर भएका तीनै जना धरौटीमा छुटेका छन् ।

गत २७ मंसिरमा मुख्य आरोपीमध्येका एक एमके मामा भनिने मोहनकुमार अग्रवाल जिल्ला अदालत मोरङमा सुटुक्क हाजिर भएको थिए । थुनछेक बहसपछि उनी ३ लाख धरौटी बुझाएर उनी छुटे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा