बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

पुसको झरीले जनजीवन प्रभावित, कहिले सम्म पर्छ झरी ?


  • बुधबार, पुष १४ २०७८
4.9K
SHARES

फाइल तस्विर

अविरल झरी कारण देशभरको जनजीवन प्रभावित भएको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रहरूमा बाक्लो हिमपात भएको छ भने तराईका विभिन्न जिल्लाहरूमा पनि भारी वर्षा भएको छ ।

जल तथा मौसम विभागको मौसम पूर्वानुमान शाखाका अनुसार आज पश्चिमी भागमा बढी वर्षा भएको छ । मौसमविद् सविना शाक्यले गोरखा, कास्की, लमजुङ, लगायतका क्षेत्रमा मध्यम स्तरको वर्षा भइरहेको र तराईका केही भूभागहरूमा सामान्य वर्षा भइरहेको जानकारी दिइन् ।

उनका अनुसार अनुसार गत २४ घण्टामा सबैभन्दा बढी गोरखा आसपास ४० मिलिमिटर पानी परेको छ । कास्की आसपासमा १४ मिलिमिटर वर्षा भएको छ । यस्तै लमजुङमा ३९ दशमलव ८ मिलिमिटर पानी परेको छ भने चितवनमा ४० मिलिमिटर वर्षा भएको छ ।

मनाङमा २७ दशमलव ५ मिलिमिटर र काठमाडौँमा १० दशमलव ७ मिलिमिटर पानी परेको छ । सुदूरपश्चिमका जिल्लाहरूमा १० मिलिमिटर हाराहारी वर्षा भएको शाक्यले बताइन् । पूर्वदेखि पश्चिमसम्म पहाडी र उच्च पहाडी क्षेत्रहरूमा वर्षा र हिमपात भइरहेको हो ।

अरब सागरबाट आएको पश्चिमी जलवाष्पयुक्त वायुको प्रभावका कारण वर्षा भइरहेको मौसमविद् शाक्यले बताइन् । उनले भनिन्–‘पश्चिमी बायुका कारण देशभर आंशिक देखि सामान्य बदली रही पूर्वदेखि पश्चिमका पहाडी क्षेत्रहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागहरूका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात भइरहेको छ ।’

मौसम पूर्वानुमान शाखाका अनुसार आज रातिपनि देशभर आंशिक देखी सामान्य बदली  रहने,  प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

मौसमविद् शाक्यका अनुसार भोलि देखि मौसममा क्रमिक सुधार आउनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागहरूका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहे पनि देशका अन्य भूभागमा आंशिक बदली रहने, केही स्थानहरूमा हल्का वर्षा हुने पूर्वानुमान रहेको र मौसममा क्रमिक सुधार आउने शाक्यले बताइन् ।

उनले भनिन्–‘बिहीबार राति पनि देशका पहाडी भागमा आंशिक बदली र बाँकी भागमा मौसम सफा रहनेछ । प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक वा दुई स्थानहरूमा हिमपातको पनि सम्भावना रहेको छ तर भोलिदेखि मौसममा क्रमिक सुधार आउनेछ ।’ हिउँदमा भएको वर्षाबाट खास गरी गहुँ, जौ लगायत तरकारी खेती गरेका कृषकहरूलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा