शनिबार, साउन ३० २०८३
ताजा अपडेट

लाइसेन्स नहुनेलाई खुसीको खबर : ट्रायल दिएकै दिन परीक्षणकालीन लाइसेन्स हातमा !


  • बुधबार, पुष १४ २०७८
6.3K
SHARES

फाइल तस्बिर

सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) उत्तीर्ण गरेकै दिन परीक्षणकालीन लाइसेन्स दिने व्यवस्था मिलाउने तयारी रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले बताएकी छन्।

मंगलबार यातायात व्यवस्था विभागको निरीक्षण गर्दै मन्त्री यादवले भनिन्,‘अब ट्रायल पास भएकै दिन परीक्षणकालीन लाइसेन्स दिने तयारी हाम्रो छ। यसले गर्दा स्मार्ट लाइसेन्सको झन्झट पनि कम हुन्छ।

हाल विभागले ट्रायल उत्तीर्ण गरी राजश्व बुझाएपछि यस्तो लाइसेन्स वितरण गर्दै आएको छ। तर यो कार्ड पनि वितरणको सुरुआतमै अभाव भएको पाइएको थियो। सेवाग्राहीहरु घण्टौँ लाइन लागेर पनि रित्तै फर्कन बाध्य थिए।

स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाइका कारण लाइसेन्स लिन सेवाग्राही वर्ष दिन कुर्नुपर्ने बाध्यताको विकल्पमा विभागले अस्थायी रूपमा परीक्षणकालीन लाइसेन्स दिन थालेको थियो।

विभागले ट्रायल पास भएर राजश्व बुझाएकै दिन एक वर्षको म्याद राखेर परीक्षणकालीन लाइसेन्स (अस्थायी) दिन थालेको हो। पहिलो चरणमा एकान्तकुनास्थित कार्यालयबाट लाइसेन्स वितरण सुरू गरेर यसलाई देशैभर वितरण गरिने विभागको भनाई छ।

उक्त कार्डमा विभागले सक्कली, नक्कली छुट्याउने क्युआर कोड राखेको छ।

यो कार्डमा क्युआर कोड स्क्यान गरेर चालकको विवरण हेर्न सकिन्छ। क्युआर कोड रिड गर्ने एप ट्राफिक प्रहरीको मोबाइलमा हुन्छ। उनीहरूले त्यो एपमार्फत रिड गरी सक्कली वा नक्कली भनेर छुट्याउन सक्ने हुँदा कार्ड विश्वासिलो पनि भएको विभागको भनाइ छ।

पहिलो चरणमा विभागले यसलाई एक वर्षको मान्यता दिएको छ। एक वर्षसम्म पाँचपटकसम्म ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परे यो कार्ड खारेज हुनेछ।

पाँचपटकसम्म कारबाहीमा नपरे मात्रै चालकले एक वर्षपछि स्मार्ट लाइसेन्स पाउनेछन्। विभागले यस्तो कार्ड हाल निःशुल्क दिएको छ।

लामो समयसम्म स्मार्ट लाइसेन्स छपाइ बन्द हुँदा लाखौं चालक स्मार्ट लाइसेन्सबाट बञ्चित छन्। नवीकरण गर्नेले पनि लामो समयदेखि पाएका छैनन्।

विभागका अनुसार हाल चार लाख बढी चालक स्मार्ट कार्डबाट बञ्चित छन्। उनीहरू राजश्व तिरेको रसिदलाई लाइसेन्सका रूपमा प्रयोग गर्न बाध्य छन्।

विभागले आजदेखि १४ लाख स्मार्ट लाइसेन्स छाप्न सुरु गरेको छ। विगत डेढ वर्षदेखि स्मार्टकार्ड छपाई प्रकृया रोकिएको थियो।

अब यसले निरन्तरता पाएसँगै पर्खाइमा रहेकाहरूले केही समयभित्रै लाइसेन्स पाउन थाल्ने विभागको भनाइ छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा