बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

उखुको अझै साढे १२ करोड बक्यौता रहेको किसानको दावी


  • सोमबार, पुष १२ २०७८
11.5K
SHARES

फाइल तस्विर

पाँच वर्षअघि चिनी मिललाई बिक्री गरेको उखुको १२ करोड ६४ लाख रुपैयाँ बक्यौता अझै बाँकी रहेको उखु किसान संघर्स समिति सर्लाहीले जनाएको छ ।

सरकारले हिसाब गरेको कुल ६५ करोड बक्यौता मध्येबाट उक्त रकम अझै पनि किसानले नपाएको संघर्ष समितिका संरक्षक राकेश मिश्रले बताए ।

उद्योगी र किसानको दाबीमा फरक परेको २५ करोड बाहेकको झण्डै १३ करोड रुपैयाँ अझै उद्योगबाट प्राप्त नभएको मिश्रले बताए । किसानले दाबी गरेको ९० करोडमध्येको थप २५ करोडको हिसाब खोज्न पनि सरकारले चासो नदिएको समितिको गुनासो छ ।

‘सरकारले दिनु भनेकै रकमबाट झण्डै १३ करोड पाएका छैनौं, थप अध्ययन गर्ने भनेको २५ करोडमा सरकार मौन छ,’ संरक्षक मिश्रले भने । पुस महिनाभित्रै सबै रकम भुक्तानी नभए माघबाट पुनः आन्दोलनको तयारी गर्ने पनि उनले चेतावनी दिए ।

संघर्ष समितिका सचिव हरेश्याम यादवका अनुसार अन्नपूर्ण, श्रीराम, महालक्ष्मी, इन्दिरा र लुम्बिनी चिनी मिलले किसानलाई अझै बक्यौता तिर्न बाँकी छ ।

अन्नपूर्ण चिनी मिलले ५ करोड, श्रीरामले ३ करोड १४ लाख, महालक्ष्मी सुगर मिलले ३ करोड र इन्दिरा सुगरले एक करोड ५० लाख रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी छ ।

अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेश अग्रवालले मिल बिक्री गरेको र नयाँ सञ्चालकले किसानलाई चेक वितरण गरे पनि सबै चेक नसाटिएको सचिव यादवले बताए । यस्तै श्रीराम सुगर मिलले बकयौता रकम जिल्ला प्रशासनमा दिए पनि किसानको विवरण नदिँदा वितरण नभएर थन्किएको समितिले जनाएको छ ।

अन्य मिलले भने रकम भुक्तानीका लागि खासै चासो नदिएको समितिले जनाएको छ । उखु किसानको वक्यौता भुक्तानी विवादबारे किसानबाट थप ताकेता नभएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा