नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको आजको परिस्थितिमा तत्काल समाजवाद लागू हुने स्थिति नरहेको बताएका छन् । तत्काल समाजवादी क्रान्ति अगाडि बढ्ने स्थिति पनि नरहेको प्रचण्डको निष्कर्ष छ ।
वर्तमान संविधानले नेपाल समाजवाद उन्मुख राज्य हुनेछ भनेको र त्यही मूल नीतिअन्तरगत नेकपा माओवादी केन्द्रले समाजवादलाई आफ्नो रणनीतिक लक्ष बनाएको, तर यसलाई तत्कालीन कार्यनीति बनाउने परिस्थिति नरहेको प्रचण्डले स्पष्ट पारेका छन् ।
‘हाम्रो अहिलेको नीति भनेको समाजवाद लागू गर्ने होइन नेपालमा । माओवादी पार्टीले समाजवाद भन्दैगर्दा हतारिएर परिस्थिति परिपक्व नभइकन समाजवाद लागू गर्ने, समाजवादी क्रान्तिको कुरा गरेको हो कि भन्ने भ्रम चाहिँ नरहोस्’ प्रचण्ड भन्छन्, ‘नेपालको आजको परिस्थितिमा तत्काल समाजवाद लागू हुने स्थिति छैन । तत्काल समाजवादी क्रान्ति अगाडि बढ्ने स्थिति पनि छैन ।’
आज (पुस ११) देखि सुरु हुने राष्ट्रिय सम्मेलन (महाधिवेशन) का लागि तयारी पारिएको दस्तावेजमा उल्लेखित ‘लाइन’ को व्याख्या गर्दै प्रचण्ड भन्छन्, ‘अहिले रणनीतिचाहिँ हाम्रो समाजवाद नै हो । यसको आधार तयार पार्ने कुरा हाम्रो संविधानले पनि दिएको छ । तर, राष्ट्रिय अन्तरराष्ट्रिय परिस्थिति, हाम्रो विकासको अवस्थामा समाजवादी कार्यक्रम अहिले नै लागू गर्न सक्ने परिस्थिति छैन । अहिले समाजवाद उन्मुख हुने कुरा हो । अहिले हामी व्यवहारमा जाने तत्कालको कार्यनीति भनेको समाजवादउन्मुख स्वतन्त्र, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने कुरा हो ।’
माओवादी अध्यक्ष प्रचण्ड अगाडि भन्छन्, ‘त्यसकारण के भ्रम नहोस् भने समाजवादमा हत्त न पत्त परिस्थिति नै नभइकन जान खोजिहालेको हैन । हाम्रो गोल त समाजवाद हो नै । हाम्रो रणनीति समाजवाद नै हो । जसरी संविधानले निजी, सार्वजनिक र सहकारी समायोजनबाट अर्थतन्त्र विकास गर्ने कुरा गरेको छ, त्यही मूल नीतिअन्तरगत नै हामीले गाउँगाउँ टोलटोलबाट समाजवादका भ्रुणहरु बनाऔं । कहीँ न कहीँ, कसै न कसैले सुरु त गर्नुपर्यो । आफूलाई समाजवादी भन्ने तयार व्यवहारमा नगर्ने हुन भएन । यसमा चाहिँ हामी गम्भीर छौँ । तर, तत्कालै समाजवाद लागू भइहाल्छ भन्ने कुराचाहिँ होइन ।
माओवादी अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमा विश्व पुँजीवादको वर्तमान अवस्था, वित्तीय पुँजीवादले मानव जीवनमा पारेको असर, जलवायु परिवर्तन तथा ग्लोबल वार्मिङले पृथ्वी एवं समस्त प्राणी जगतमा पारेको असर अनि पुँजीवादी व्यवस्थाका कारण मानव स्वास्थ्यमा परेका असरहरुलाई आफ्नो दस्ताबेजमा समेटेका छन् ।