शनिबार, साउन ९ २०८३
ताजा अपडेट

पहिलो काँग्रेस केन्द्रीय समिति बैठक शेखर कोइरालाले किन गरे बहिस्कार ?


  • आइतबार, पुष ११ २०७८
10.4K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक शनिबार सानेपामा बस्यो।

सभापतिमा शेरबहादुर देउवासँग पराजित शेखर कोइराला भने पहिलो बैठकमै अनुपस्थित रहे। देउवासँग सभापतिमा हार्दा शेखरले ४० प्रतिशत मत ल्याएका थिए।

केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय निर्वाचन समितिले सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ जनालाई निर्वाचित भएको प्रमाणपत्र दिएलगत्तै सभापति देउवाको अध्यक्षतामा पहिलो केन्द्रीय समिति बैठक बसेको थियो।

कांग्रेस विधानअनुसार सभापतिमा पराजित व्यक्ति स्वत: केन्द्रीय सदस्य हुन्छ। जसअनुसार शेखरलाई सभापति देउवाले केन्द्रीय सदस्य मनोनीत गरिराख्नुपर्दैन।

पहिलो केन्द्रीय समिति बैठकमा शनिबार कोइराला आएनन्। बरू उनी चितवन पुगेका छन्। केन्द्रीय समिति बैठक चल्दै गर्दा शेखर भने चितवनको देवघाटमा कोइराला सेवा समाजको नवौं महाधिवेशन सम्बोधन गर्दै थिए। त्यहाँ उनले आफूले सभापति हारे पनि एजेन्डालाई स्थापित गरेको बताएका थिए।

शेखरनिकट एक नेताका अनुसार कोइरालाले पहिलो केन्द्रीय समिति बैठक बहिष्कार गरेका हुन्। महाधिवेशन सकिएपछि कांग्रेसमा वरीयता सम्बन्धी विवाद देखा परेको छ। कसलाई कुन वरीयतामा राख्ने भन्ने कांग्रेसमा कुनै नियम भने छैन।

आफूपछि कुन नेतालाई वरिष्ठ नेतालगायत वरीयतामा स्थान दिने सभापति देउवाको व्यक्तिगत निर्णय हो। देउवाले नेता रामचन्द्र पौडेललाई केन्द्रीय सदस्य मनोनीत गर्दै वरिष्ठ नेता बनाउन चाहेका छन्। पौडेल यो महाधिवेशनको प्रक्रियाभन्दा बाहिर नै रहेका थिए।

सभापतिमा दोस्रोपटक आफूलाई सहयोग गरेका प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरूङ र सभापतिमा पहिलेदेखि नै समर्थन गरेका कृष्णप्रसाद सिटौलालाई केन्द्रीय सदस्य मनोनीत गर्ने तयारीमा देउवा छन्।

विधानमा नभएको वरिष्ठ नेताको पदमा भने रामचन्द्रलाई नै निरन्तरता दिने तयारी देउवाको रहेको उनीनिकट एक नेताले बताए। कांग्रेस विधानमा वरिष्ठ नेताको पद कल्पना गरिएको छैन तर कांग्रेसमा सभापतिमा हार्ने व्यक्ति प्राय: वरिष्ठ नेता हुने परम्परा छ।

कांग्रेसमा १६७ सदस्यीय केन्द्रीय समिति रहे पनि ३३ जना मनोनीत गर्न बाँकी छ। कोषाध्यक्ष पनि मनोनीत हुन बाँकी छ। निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले कोषाध्यक्ष मनोनित गर्ने व्यवस्था छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा