नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफै फोन गरेर पार्टीको आजदेखि सुरु हुने राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा अतिथिको रुपमा निम्ता गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको विभाजनपछि दुई नेताको सम्बन्ध तिक्ततापूर्ण रहँदै आएकोमा प्रचण्डले ओलीलाई आफै फोन गरेर निम्ता दिएका हुन् ।
एमालेको महाधिवेशनमा प्रचण्डलाई निम्ता गरे पनि उनी सहभागी भएका थिएनन् । पार्टी विभाजनपछि दुई नेता पहिलोपटक नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्रमा सँगै देखिएका थिए ।
प्रचण्डले फोन गरेर निम्ता गरेपछि जवाफमा अध्यक्ष ओलीले आफू झापामा भएको र कार्यक्रममा सहभागी हुन पार्टी महासचिव शंकर पोखरेललाई पठाउने बताएका थिए । एमालेको महाधिवेशनमा माओवादीले लीलामणि पोखरेललाई सहभागी हुन पठाएको थियो ।
माओवादीले यसअघि उद्घाटन सत्रमा अन्य कसैलाई नबोलाउने बताएको भए पनि अन्तिम समयमा देशका प्रमुख राजनीतिक दलहरूलाई सहभागी हुन निम्ता पठाएको छ ।
उद्घाटन सत्रमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी हुने तय भएको छ । आज दिउँसो १ बजेदेखि सुरु हुने भनिएको कार्यक्रम अब ३ बजेदेखि सुरु हुने भएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।