नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजा महेन्द्र भन्दा राष्ट्रवादी एमाले अध्यक्ष केपी शर्मा ओली भएको जिकिर गरेका छन् । पूर्वपश्चिम राजमार्ग बनाएकै भरमा महेन्द्रलाई राष्ट्रवादी भनिएको तर्फ सङ्केत गर्दै पोखरेलले एमाले अध्यक्ष ओली राष्ट्रवादी र बिकाशप्रेमी भएको बताएका हुन् ।
केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला चारवटा राजमार्गहरू निर्माण भएको बताउँदै उनले ओली बढी राष्ट्रवादी र विकासप्रेमी रहेको जिकिर गरे। अध्यक्ष ओलीको पालामा एक सय वर्षमा हुन नसकेको जलविद्युत विकासको काम पूरा भएको उनको भनाइ थियो।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ मा आयोजना भएको दंगाली कम्युनिष्ट नेता स्वर्गीय श्रीमनी आचार्यको १४ औँ सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले आफू लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा दाङमा विकासको लहर नै ल्याएको चर्चा पनि गरे । महासचिव भएपछि पहिलो पटक गृह जिल्ला दाङमा आएका नेता पोखरेलले भने- ‘कुनै जमाना थियो, बाटोमा डोजर गुडाउँदा पनि विकासप्रेमी नेताको संज्ञा दिइन्थ्यो,’ उनले भने, ‘आज-हिजो हामीले उनीहरूले खोलेको ट्र्याकहरू सबै कालोपत्रे गरेका छौँ, तै पनि हामीलाई विकासप्रेमी भन्न किन नसक्ने ?’
उनले मन्तव्यको क्रममा माधव नेपाल र प्रचण्ड अवसर वादी भएको र अवसर वादी चरित्रकै कारण मुलुकमा व्यवधान उत्पन्न भएको समेत बताएका हुन । माधव प्रचण्ड हरु ले मुलुकलाई अस्थिरतामा धकेलेको समेत नेता पोखरेलको दाबी थियो । आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउनु पर्ने बताएका पोखरेलले देशमा विकासको मुल फुटाउने पार्टी एमाले भएको जिकिर गरेका थिए ।
पोखरेलले प्रचण्ड र नेपाललाई अवसरवादको संज्ञा दिँदै आगामी निर्वाचनमा उनीहरूको प्रवृत्तिका विरुद्धमा उत्रन आह्वान गरे । प्रचण्ड-नेपालले जनतासँग भोट माग्दा नेपाली काँग्रेसलाई हराऔँ भनेर भोट मागे पनि जितेपछि काँग्रेसलाई प्रधानमन्त्री बनाउन हिँडेको हुँदा उनीहरू कम्युनिष्ट आन्दोलनविरुद्ध रहेको उनको जिकिर थियो ।