नेपाली काँग्रेसका चर्चित दुई युवा नेताले काँग्रेसको आसन्न महाधिवेशनमा महामन्त्री जितेका छन् । प्रकाशमानको प्यानलबाट महामन्त्री उठेका विश्वप्रकाश र शेखरको प्यानलबाट उठेका गगन थापाले महामन्त्री जितेका हुन् । दुवै युवा नेता आम जनतामा चर्चित छन् ।
नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्तर्गत महामन्त्री पदको गणनामा थापा र शर्मा विजयी भएका हुन् ।
थापा सर्वाधिक मत ३०२३ सहित महामन्त्री चुनिँदा शर्मा दोस्रो धेरै मत १९८४ ल्याएर विजयी भएका हुन् ।
महामन्त्री पदका लागि थापा र शर्मासँगै डा.प्रकाशशरण महत, प्रदीप पौडेल, डा. मिनेन्द्र रिजाल र राजाराम कार्की चुनावी मैदानमा उत्रिएका थिए । केन्द्रीय निर्वाचन समितिले भने मतपरिणामको औपचारिक घोषणा गर्न बाँकी छ ।
प्रकाशशरण महत १५५० मतसहित तेस्रो स्थानमा रहे । प्रदीप पौडेल भने १४०९ मतसहित चौथो स्थानमा रहे। त्यस्तै मीनेन्द्र रिजालले ८०९ मत प्राप्त गरे । त्यस्तै राजाराम कार्कीले १०७ मत प्राप्त गरेका छन् ।
यसैबीच मीनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा गरेका छन् । महामन्त्रीको प्रारम्भिक मतपरिणाम आएसँगै उनले राजीनामाको घोषणा गरेका हुन् ।
महत र पौडेल संस्थापन प्यानलबाट उम्मेदवार बनेका हुन् भने रिजाल र थापा भने कोइराला प्यानलका उम्मेदवार हुन् । त्यस्तै शर्मा प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए । त्यस्तै कार्की भने विमलेन्द्र निधिको प्यानलका उम्मेदवार हुन् । सभापतिमा पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा गएको थियो । दोस्रो चरणमा सिंह र निधिले देउवालाई समर्थन गरेका थिए ।