१२ वर्षपछि खोलो फर्किन्छ भन्ने उखान कांग्रेसमा चरितार्थ बनेको छ । एउटै समूहबाट छुट्टिएको १२ वर्षपछि शेरबहादुर देउवा र प्रकाशमान सिंह कांग्रेसको राजनीतिमा फेरि एकै ठाउँमा देखिन पुगेका छन् ।
आसन्न काँग्रेस १४ औँ महाधिवेशनमा सभापतिका प्रत्याशी नेता सिंह पहिलो चरणको आन्तरिक निर्वाचनमा तेस्रो भए । उता सभापति शेरबहादुर देउवा पहिलो भए तर काँग्रेसको विधान अनुसार ५० प्रतिशत मत कटाउन देउवाले सकेनन ।
शेखर दोस्रो भए । अब दोस्रो चरणको मतदानमा नेता सिंहको समर्थन पाएपछि स्वतः देउवा पहिलो नम्बरमा आएर काँग्रेस सभापति जित्ने लगभग निश्चित बनेको देखिन्छ ।
चाक्सीबारीमा मंगलबार बिहान देउवालाई सँगै राखेर सिंहले दोस्रो चरणको निर्वाचनमा उनलाई सघाउने घोषणा गरे।
देउवा र सिंहको लामो राजनीतिक सम्बन्ध र आपसी सहयोग छ। २०४८ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री नियुक्त भएपछि उनी र गणेशमान सिंहबीच मनमुटाव बढ्न थालेको थियो। कोइरालाले पार्टी र सरकारमा एकलौटी गरेको भनेर गणेशमानले विरोध गरेका थिए।
अन्तत: उनले पार्टी नै त्यागेको घोषणा गरे।
२०५७ माघमा कांग्रेसले पोखरामा दसौं महाधिवेशन गर्यो। सो महाधिवेशनमा शेरबहादुर देउवाले पहिलो पटक गिरिजाप्रसादलाई चुनौती दिए। देउवालाई सिंह र भट्टराई पक्षको समर्थन थियो। प्रकाशमान सिंह पोखरा महाधिवेशनमा पहिलो पटक केन्द्रीय सदस्य उठेका थिए। देउवाले सभापतिमा हारे तर सिंह केन्द्रीय सदस्यमा तेस्रो बढी मत ल्याएर निर्वाचित भए। त्यो बेलादेखि देउवा र सिंह कांग्रेसमा एकै ठाउँमा थिए।
२०५९ सालमा कांग्रेस विभाजित भएर देउवाको नेतृत्वमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन भएपछि सिंह सोही पार्टीमा संलग्न भए। २०६२ सालमा भएको कांग्रेस प्रजातान्त्रिकको महाधिवेशनमा देउवा सभापति र सिंह उपसभापति भए। त्यो बेला राजा ज्ञानेन्द्रले देउवालाई दोस्रो पटक प्रधानमन्त्रीबाट अपदस्त गरेर शासन-सत्ता आफ्नो हातमा लिइसकेका थिए।
राजाले अपदस्त गरेको उक्त सरकारमा सिंह भौतिक पूर्वाधार मन्त्री थिए।
२०६२/०६३ को दोस्रो जनआन्दोलन सफल भएपछि नेपाली कांग्रेस र कांग्रेस प्रजातान्त्रिकको एकीकरण भयो। एकीकरणपछि गिरिजाप्रसादको सभापतित्वमा पुनर्गठित कांग्रेसमा सिंह पनि उपसभापति थिए।
यसरी लामो समयसम्म देउवासँग सहकार्य गरेका सिंह २०६६ सालमा देउवा समूहबाट अलग भए। नेपाली कांग्रेसको २०६६ असार ७ गते भएको संसदीय दलको नेताको निर्वाचनमा सिंहले रामचन्द्र पौडेललाई समर्थन गरे। त्यसपछि सिंह देउवा समूह छोडेर कोइराला समूहसँग नजिकिए। २०६७ असोजमा भएको कांग्रेसको १२ औं महाधिवेशनमा सिंह सुशील कोइरालाको समूहबाट महामन्त्री पदमा निर्वाचित भए।
२०७४ सालमा भएको कांग्रेस संसदीय दलको नेताको निर्वाचनमा सिंहले देउवालाई चुनौती दिएका थिए। संसदीय दलको नेतामा सिंह पराजित भए।
१४ औं महाधिवेशनमा देउवाइतर पक्षबाट रामचन्द्र पौडेल, शेखर कोइराला, शशांक कोइराला र सिंह सभापतिका दाबेदार थिए। यो समूहमा एकमत नहुँदा शेखर र सिंह दुबै सभापतिमा उठेका थिए। देउवा र विमलेन्द्र निधि पनि सभापतिका उम्मेदवार थिए।
पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसके कोइराला, निधि र सिंह मिलेर देउवाविरूद्ध गठबन्धन गर्ने निधिले सार्वजनिक रूपमै बताएका थिए।
पहिलो चरणमा देउवा ८३ मत नपुगेर सभापतिमा निर्वाचित हुन सकेनन्। त्यसपछि उनले पहिलो सहयोग प्रकाशमान सिंहसँग मागे।
देउवाका विश्वासपात्र एवं गृहमन्त्री बालकृष्ण खाण मंगलबार बिहानै सिंहलाई भेट्न उनको निवास चाक्सीबारी पुगेका थिए।
केहीबेरपछि देउवा आफैं चाक्सीबारीमा उपस्थित भए। उनी र सुजाता कोइरालाको उपस्थितिमा प्रकाशमान सिंहले आफ्नो समर्थन देउवालाई रहेको घोषणा गरे।
यसरी एउटै समूहबाट छुट्टिएको १२ वर्षपछि सिंह र देउवा एकै ठाउँमा पुगेका छन्।