नेपाली कांग्रेसमा संस्थापनइतर समूह विभाजित अवस्थामा पुगेको छ ।
नेता रामचन्द्र पौडेलको निवास बोहोराटार पुगेका नेता कार्यकर्तालाई पौडेलले आफू यो प्रतिष्पर्धाबाट बाहिरिएको बताएका थिए ।
नेताहरुले पौडेललाई उमेदवारी दिन आग्रह गरे पनि उनले देउवाविरुद्ध अहिले एकमात्रै उमेदवार हुनुपर्ने बताएका थिए ।
एकमात्रै उमेदवार हुने अवस्था देखिएन,” पौडेलको भनाई उद्धृत गर्दै एक नेताले भने, “अहिलेको महाधिवेशनमा म उमेदवार बन्दिन ।”
पौडेललाई भेटेर निस्किएका नेताहरुले अझै पनि अन्तिम प्रयासमा रहेको बताएका छन् । तर उनीहरु मिल्न नसक्ने अवस्थामा पुगिसकेको सहभागी नेताहरु बताउँछन् ।
अहिले संस्थापनइतर समूहबाट उमेदवारी दिने अन्तिम तयारीमा रहेका प्रकाशमान सिंह र शेखर कोइराला टिम बनाउन लागिपरेका छन् ।
शेखर कोइरालाले गगन थापा र विश्वप्रकाश शर्मालाई महामन्त्री उमेदवार बनाएर अघि बढाउने प्रयास थालेका छन् ।
तर शर्मालाई सिंहले पनि महामन्त्रीमा उमेदवारी दिएर आफ्नो प्यानलमा रहन आग्रह गरेको स्रोतले जानकारी दियो । दुवै पक्षसँग शर्माले केही समय पर्खिन आग्रह गरेका छन् ।
बाह्रखरीसँगको संक्षिप्त कुराकानीमा शर्माले आफू सभापति देउवाको टिममा नपरेको स्वीकार गर्दै अर्को कुन टिममा रहने भन्नेबारेमा निर्णय नलिएको बताएका छन् ।
“शेरबहादुर दाइको टिममा परिन, महामन्त्रीमा लड्छु कुन टिम भन्ने फाइनल भएको छैन,”
शर्माले भने ।
पौडेलको समर्थन कसलाई हुने भन्नेबारेमा अहिलेसम्म खुलेको छैन । उनी निटक स्रोतले दिएको जानकारीअनुसार शेखरलाई हुने सम्भावना बढी देखिन्छ ।
“शेखरले यसअघि पनि पौडेलका लागि आफू उपसभापति बस्न तयार रहेको बताइसकेका छन्,” स्रोतले भन्यो, “आफ्नो अडानबाट टसको मस नभएका प्रकाशमानलाई समर्थन गर्ने अवस्था अहिलेसम्म देखिन्न ।”
सिंहले महेश आचार्यलाई पनि उपसभापतिमा राख्न तयार रहेको बताउँदै प्रस्ताव गरेको बुझिएको छ । आचार्यले पनि टिम मिलाउन लागिपरेको हुँदा केहीबेर पर्खिन आग्रह गरेको स्रोतले जानकारी दियो ।
“अर्जुन नरसिंह केसी, रामशरण महतलगायतका नेताले शेखर कोइरालालाई स्वीकार गर्न पनि सकेका छैनन्, प्रकाशमान सिंहलाई समर्थन गर्न पनि सकेका छैनन्,” एक नेताले भने, “यस्तो अप्ठेरो अवस्थामा कसलाई कसरी समर्थन गर्ने भन्नेबारेमा केही निर्णय भइसकेको छैन ।”
नेता कोइरालाले पौडेल सर्वसम्मत नहुने अवस्थामा आफूले सबैलाई मिलाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
“अझै पनि सहमतिको प्रयास कोसिस गर्दैछौँ । हिजो रातिसम्म रामचन्द्र पौडेललाई सबैले छाडिदिने र सहमति गर्ने भन्ने भएको थियो,” शेखर कोइरालाले शनिबार बिहान कार्यकर्ताहरुसँग भनेका थिए, “प्रकाशमान सिंहले म छाड्दिन भन्नुभयो । उहाँले मलाई छाडिदिन आग्रह गर्नुभएको थियो । तपाईंले मलाई गर्नुस् भनेँ । हाम्रो नेता रामचन्द्र पौडेल नै हो । वरिष्ठ नेता हो । प्रकाशमानले छाडिदिए मैले पनि छाड्छु भनेको हुँ ।”