नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिहरूका लागि बसोबास र खानाको व्यवस्था गरेको छ।
मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा कांग्रेसको १४ औं महाधिवेशन हुँदैछ। महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आउने क्रम सुरू भइसकेको छ।
कांग्रेस महाधिवेशनका लागि गठित भोजन तथा आवास समितिले भने मंसिर २३ गतेदेखि मात्रै प्रतिनिधिलाई बसोबासको व्यवस्थापन गर्नेछ।
केन्द्रीय सदस्यसमेत रहेका भोजन तथा आवास समिति संयोजक सुरेन्द्रराज पाण्डेले आवास र भोजनका लागि व्यवस्थापन गर्ने काम भइरहेको बताए।
उनकाअनुसार ठमेल, सुन्धारा र गौशालामा महाधिवेशन प्रतिनिधिलाई बसोबासका लागि होटल बुकिङ गरिएका छन्।
अहिलेसम्म ३८ सय बेड बुकिङ भइसकेको छ। अब पाँच/सात सय बेड बुकिङ गर्न बाँकी छ, आज बुकिङ गरिसक्छौं,’ उनले भने।
कांग्रेसमा करिब चार हजार पाँच सय महाधिवेशन प्रतिनिधि हुन्छन्।
सबैभन्दा धेरै ठमेलका होटलमा गरी दुई हजार बेड बुकिङ गरिएको छ। एक हजार पाँच सय बेड भने गौशला र बाँकी सुन्धाराका होटलमा व्यवस्थापन गरिने उनले बताए।
खानाको व्यवस्थापन दुइटा पार्टी प्यालेसलाई दिइएको छ। बसुन्धाराको दियालो फुडल्याण्ड र बत्तीसपुतलीको अनुपम फुडल्याण्डले खानाको व्यवस्थापन गर्नेछन्।