बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !


  • मंगलबार, मंसिर २१ २०७८
8.6K
SHARES

फाइल तस्विर

सरकारले थालेको छलफल अनुसार नेपाली नर्सले बेलायतमा मौका पाएमा आकर्षक आम्दानी गर्ने देखिएको छ ।  बेलायतले आफ्ना नर्सहरूले बेलायतमा मासिक ४ हजार पाउन्ड स्टर्लिङसम्म पाइरहेकाले त्यसैअनुसार तलब दिने प्रस्ताव गरेको छ ।

बेलायतमा नेपाली नर्सलाई रोजगारीको अवसर दिनेबारे दुई देशबीच औपचारिक सम्वाद अघि बढिसकेको छ । बेलायत सरकारले औपचारिक पत्र काटेरै नेपाली नर्सलाई आफ्नो ‘नेसनल हेल्थ प्रोग्राम’अन्तरगत अवसर दिन चाहेको बताएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक कार्यदल नै बनाएर वार्ता अघि बढाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डन्डुराज घिमिरेका अनुसार बेलायतले विभिन्न देशमा गरेर एक लाख नर्स लैजान खाजेको बुझिएको छ । तर, नेपालबाट कति नर्स, कहिलेसम्म, कुन मापदण्ड, विधि, प्रक्रियाबाट लैजान चाहेको हो भन्ने स्पष्ट नभएको उनले बताए । यसबारे वार्ता गर्न मन्त्रालयकी सहसचिव विनु बज्राचार्यको संयोजकत्वमा बनेको समितिले छलफल अघि बढाएको घिमिरेले जानकारी दिए ।

अनौपचारिक रुपमा बेलायत सरकारले नेपालबाट १० हजार जना नर्सलाई रोजगारी दिनसक्ने बताएको मन्त्रालयबाट हालै सरुवा भएका सचिव सूर्यप्रसाद गौतमले सार्वजनिक कार्यक्रमहरुमै बताउँदै आएका छन् । बेलायतले फिलिपिन्स, भारत र नेपालबाट नर्सिङ क्षेत्रका श्रमिक लैजान चाहेको बुझिएको छ ।

सरकारीस्तरमै सम्झौता गरेर नर्स लैजान चाहेकाले सरकारीस्तरमा (जीटुजी) समझदारी गर्न अहिले दुवै देशका श्रम अधिकारीहरू नियमित वार्तामा जुटेका छन् । छनोट भएर जाने नर्सले वार्षिक ४८ हजार पाउन्ड स्टर्लिङ (मासिक ४ हजार पाउन्ड) अर्थात् करीब ७५ लाख रुपैयाँसम्म तलब पाउने जानकारी बेलायतले दिएको मन्त्रालयका प्रवक्ता घिमिरेले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा