राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा कमल थापा अध्यक्षमा पराजित भएपछि उनलाई हार स्वीकार गर्न बडो मुस्किल भएको देख्न पाइन्छ ।
सामाजिक सञ्जाल मार्फत हार स्वीकार गर्ने बताए पनि विभिन्न दृष्टिकोणबाट आफ्ना असन्तुष्टि पोख्दै आएका छन् । उनी पूर्व राजा सँग खनिएका छन् । पूर्व राजाको हस्तक्षेप भएको बताएका छन् । अनेक थरी कुरा गर्दै उनलाई हार स्वीकार गर्न कठिनाइ भएको आम कार्यकर्ताले महसुस गरेका छन् ।
मतदान चलिरहँदा अध्यक्षका उम्मेदवार कमल थापालाई हार्छु भन्ने लागेको थिएन । आफूले जित्नेमा ढुक्क देखिएका उनले अर्का उम्मेदवार राजेन्द्र लिङ्देनलाई सहमतिमा ल्याउन प्रयास समेत गरेनन् ।
लिङ्देन लगायतका उम्मेदवारहरू प्रतिनिधिसँग भोट मागिरहँदा अध्यक्ष थापा, लिङ्देन समूहका महामन्त्रीकी उम्मेदवार रेखा थापासँग सामाजिक सञ्जालमा दोहोरी खेलिरहेका थिए ।
निर्वाचन परिणाम घोषणापछि अवस्था फेरिएको छ । आफूलाई ‘पाको नेतृत्व’मा प्रस्तुत गरेका थापाले त्यसलाई धुलिसात हुने व्यवहार देखाइरहेका छन् भने काँचो नेतृत्व’को आरोप खेपेका लिङदेन परिपक्व नेता बन्ने प्रयासमा छन् ।
सामाजिक सञ्जालमार्फत अध्यक्षमा निर्वाचित लिङ्देनलाई बधाई दिने औपचारिक पुरा गरेका थापा पूर्व निर्धारित कार्यक्रम नयाँ कमिटीको शपथ ग्रहणमा समेत गएनन् ।
निवर्तमान अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा। प्रकाशचन्द्र लोहनी कार्यक्रममा पुगे । थापाले पनि आफू पार्टी अध्यक्ष भएको बेला भएको महाधिवेशनमा आएका प्रतिनिधिहरुले गरेको निर्णयलाई स्वीकार गरेर राजनीतिक संस्कार देखाउन सक्थे । तर उनले त्यसो गर्न चाहेनन् ।
बरु हारको आरोप निर्मल निवास तिर पोख्न व्यस्त रहे । आफ्नो पार्टीको निर्वाचनमा निर्मल निवासको नाङ्गो हस्तक्षेप गरेको भन्दै भर्त्सना गरेका उनले लिङ्देनको जितमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई बधाई दिँदै कटाक्ष समेत गरेका छन् ।
राप्रपा अध्यक्ष पद त्यो पनि महाधिवेशनबाटै हार्दा समेत आफूलाई सहज फिल गर्न नसकेका थापा कतै फेरी पार्टी नै अलग गर्ने त हैनन् भन्ने चर्चा कार्यकर्ता माझ भएको छ । पद बिना एक छिन पनि रहन नसक्ने जस्तो व्यवहार कमल थापाले देखाए सँगै राप्रपा पार्टी कतै फुटमा परिणत हुने पो हो कि भन्ने शङ्का उब्जिएको अनुमान गर्न सकिन्छ ।