कांग्रेसले पार्टीको १४ औं केन्द्रीय महाधिवेशनमा ‘शक्ति प्रदर्शन’ नगर्ने भएको छ।
हालै चितवनमा सकिएको नेकपा एमालेको महाधिवेशनमा गाउँ-सहरदेखि नेता/कार्यकर्ता लगेर ‘शक्ति प्रदर्शन’ गरिएको थियो।
तर कांग्रेसले महाधिवेशनलाई शक्ति प्रदर्शनका रूपमा अगाडि नलैजाने भएको छ।
आज ललितपुरमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशन सरल हिसाबले गरिने बताए।
महाधिवेशनमा लोकतान्त्रिक अभ्यास गरिने र नेताहरूको आलोचना गर्न पाइने उनले बताए। एमालेको महाधिवेशनतर्फ लक्षित गर्दै उनले कुनै नेतालाई पर्चा बाँड्नबाट रोक्नेजस्ता गतिविधि कांग्रेसमा नहुने पनि प्रष्टाएका थिए।
सौराहामा भएको एमाले महाधिवेशनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली पक्षबाट अध्यक्षकै अर्का उम्मेदवार भीम रावल लगायतको नाम समावेश गरेर ‘भोट नहाल्ने सूची’ भन्दै मतदान स्थलमै वितरण गरेपछि विरोध भएको थियो।
शर्माले कांग्रेसमा भने नेतृत्वको विरोध र आलोचना गर्न पाइने पनि बताए। ‘महाधिवेशन वा अरू बेला पनि कांग्रेसमा नेतृत्वको आलोचना र विरोध गर्न पाइन्छ। भोट नहाल भन्ने सूची वितरण गर्नेजस्ता क्रियाकलाप हुने छैनन्,’ उनले भने।
कांग्रेसले महाधिवेशन प्रतिनिधिबाहेक अरू कार्यकर्तालाई बस रिजर्भ गरेर पनि काठमाडौंमा नउतार्ने दाबी गरेको छ।