नेकपा एमालेको चितवनमा जारी महाधिवेशनमा एमाले अध्यक्ष ओली सर्वसम्मत नेतृत्व चयन गर्ने रणनीतिमा थिए । नाम लिस्ट आफै पढेर प्रतिनिधिलाई ताली बजाउन लाएर निर्विरोध अध्यक्ष लगायत अन्य नेतृत्व छान्ने ओलीको लक्ष्यमा एमाले उपाध्यक्ष भीम रावल बार बनेर उभिए ।
ओलीको सर्वसम्मत नेतृत्व छान्ने लाइनमा रावलले अध्यक्ष पदमा उम्मेदवारी दिए । अध्यक्षको उम्मेदवारीबाट ब्याक नभएपछि ओली र रावलको अध्यक्ष पदका लागि प्रतिस्पर्धा भयो ।
रावललाई ओली संग चुनाव हार्ने कुरो पहिल्यै थाहा थियो तर लोकतान्त्रिक प्रक्रियालाई आत्मसाथ गर्छु भन्दै सर्वसम्मत अध्यक्ष बन्ने चाहाना भएका ओलीलाई घिसारेर चुनावी मैदानमा ल्याई छाडे ।
चुनाबी मैदानमा ल्याउनु नै रावलको सफलता भएको विश्लेषकहरू बताउँछन् । ओली चुनावमा जाने मनसायमै थिएनन तर रावलले मैदानमा ल्याई छाडे । एमालेमा चुनावमा जान छाडेर भाग्ने नेताहरूलाई भीम रावल र घनश्याम भुसालले घिसारेर चुनावी मैदानमा ल्याइदिएका छन् ।
महाधिवेशनमा ९० प्रतिशतभन्दा बढी प्रतिनिधि छनोट गरेर ओली चितवनको नारायणी नदी किनार पुगेका थिए । महाधिवेशन उदघाटन भाषणमा उनले आइतबार राति सर्वसम्मत एमाले केन्द्रीय कमिटी घोषणा गरेर महाधिवेशन सक्ने उनले बताएका थिए ।
आफैंले आफैंलाई अध्यक्ष घोषणा गरेर भाग्न खोजेका ओलीलाई रावलले कडा चुनौती दिए । बरु एक मत आए पनि पराजित हुन तयार छु, तर चुनावी मैदानबाट भाग्न मिल्दैन भन्ने सन्देश रावल र भुसालले जुन दिएका छन्, वास्तवमा उनीहरूले आफूलाई परिपक्व नेता सावित गरेका छन् ।
चुनावमा पराजित हुँदैमा नेताको राजनीति सकिँदैन । अर्को अवसर आउँछ । रावल र भुसालले वास्तवमै राजनीति गरेका हुन्, जसको अगाडि आफूलाई शक्तिशाली ठान्ने ओलीसमेत झुक्नु परेको विश्लेषण हुन थालेको छ ।