राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले आगामी निर्वाचनपछि मात्र पार्टी नेतृत्वबाट विश्राम लिने बताएका छन् । सोमबार काठमाडौँमा अध्यक्षको उम्मेदवारी घोषणा गर्दै उनले भने, ‘केही काम अधुरा छन् । यी कामलाई छोडेर पलायन हुने मलाई अधिकार छैन । मैले कति बेला विश्राम लिनुपर्छ थाहा छ । पार्टीलाई आगामी निर्वाचनपछि एउटा अग्रणी शक्तिका रूपमा स्थापित गरेपछि, चाँडो भन्दा चाँडो राजसंस्था र हिन्दु राष्ट्र स्थापना गर्ने आधार भएपछि स्वाभाविक रूपले मैले विश्राम लिनुपर्छ ।’
अहिलेको अवस्थाभन्दा पार्टीलाई माथि उठाएर नेतृत्व हस्तान्तरण गर्ने बताए । ‘अहिले केही साथीमा उत्साह देखिएको छ । जोस देखिएको छ । अब हामी नेतृत्व लिन्छौँ भन्ने चाहना देखिएको छ । त्यसलाई म स्वागत गर्छु,’ थापाले भने । केही दिनअघि राप्रपा नेता राजेन्द्र लिङदेनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए । थापाले लिङदेनलाई चार वर्ष धैर्य गरिदिन आग्रह गरे । थापाले भने, ‘अहिले पार्टीका अवस्था निकै कमजोर छ । तल जाने ठाउँ छैन । तपाईंहरु चार वर्ष धैर्य गर्नुस् त त्यहाँभन्दा तल जाने ठाउँ नै छैन नि । योभन्दा अलि माथि गएपछि तपाईंलाई जिम्मा लगौँला । अलिकति दु:ख गर्ने काम हामीलाई छाडिदिनुस् ।’
तीन अध्यक्ष मङ्सिर १७ गतेपछि एक अध्यक्ष भएर अगाडि बढ्ने उनको भनाइ थियो । साथै लिङदेनले युवा पुस्ता र पुरानो पुस्ता भनेर पार्टीमा विभाजन ल्याउन खोजेको थापाको आरोप छ । ‘आज युवा युवा, नयाँ पुस्ता भनेको सुन्छु । म हुन पुस्ता हो मलाई थाहा छैन । नयाँ पुस्ताका साथीहरूलाई पुस्ताका नामा विभाजनको रेखा नल्याउनुस्,’ थापाले भने । पुस्ताकै कुरा गर्ने हो भने टुँडिखेलमा दौडेर आफूलाई जित्न लिङदेनलाई चुनौती दिए । ‘पुस्ताकै कुरा गर्ने हो भने टुँडिखेलमा गरेर दौडऔँ । यदि टुँडिखेलमा दौडँदा मलाई जित्नुभयो भने म अध्यक्षको पदमा उठ्दिनँ,’ थापाले भने ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।