शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

इम्बोस्ड नम्बर राख्नुभयो? नयाँ दर्ता हुने सवारीमा अनिवार्य !


  • शनिबार, मंसिर ११ २०७८
9.4K
SHARES

संकेत तस्बिर

सरकारले सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको छ। हालका साधारण नम्बर प्लेटलाई इम्बोस्डमा रूपान्तरण गराउन सुरू गरेको छ भने नयाँ दर्ता हुने सबै सवारी साधनले इम्बोस्ड नम्बर प्लेट नै राख्नुपर्नेछ।

पुराना सवारीले पनि क्रमशः अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने यातायात व्यवस्था विभागले जनाएको छ।

नेपाल सरकारद्वारा कात्तिक २२ गते ‘राजपत्र’ मा प्रकाशित यातायात व्यवस्था कार्यालयमा दर्ता हुने नयाँ सवारीले मंसिर १ बाट अनिवार्य इम्बोस्ड नम्बर जडान गर्नुपर्ने उल्लेख छ।

यससँगै मंसिर १ बाट प्रदेश नम्बर १ र २ बाहेकका यातायात कार्यालयमा नयाँ दर्ता भएका सवारी साधनमा अनिवार्य रूपमा इम्बोस्ड जडान लागू भइरहेको विभागका निर्देशक रामचन्द्र पौडेलले बताएका छन् ।

विशेषगरी सवारी साधनको चोरी, राजस्व छली तथा अन्य आपराधिक क्रियाकलाप रोक्न र सवारी साधन व्यवस्थापन आधुनिक बनाउन इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको निर्देशक पौडेलले बताए।

विभागमा हालसम्म दर्ता भएका सवारी साधनको संख्या ३९ लाख छ। तीमध्ये नयाँ र पुराना गरी २५ लाख सवारी साधनमा २०८० मंसिर महिनासम्म इम्बोस्ड नम्बर जडान गर्ने विभागको लक्ष्य छ।

बाँकी सवारी साधनमा इम्बोस्ड जडानका लागि थप सम्झौता वा नयाँ टेन्डर प्रक्रिया हुने उनी बताउँछन्।

‘७५ लाख सवारीलाई इम्बोस्ड गर्ने यो प्रोजेक्टको लक्ष्य हो। २५ लाख सकिएपछि नयाँ सम्झौता वा नयाँ टेन्डर प्रक्रियामा जानेछ,’ उनले भने।

निर्देशक पौडेलका अनुसार आगामी फागुन १ देखि नामसारी गरेको सवारी साधनले इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्छ। त्यस्तै ०७९ जेठ १ गतेबाट सवारी दर्ता नवीकरण गर्नेहरूले पनि अनिवार्य इम्बोस्ड जडान गर्नुपर्नेछ।

इम्बोस्ड नम्बर प्लेट लिन विभागले सवारी साधनअनुसार शुल्क तोकेको छ। यसअनुसार मोटरसाइकल र स्कुटरका लागि २ हजार ५ सय रूपैयाँ, तीनपांग्रे साधनका लागि २ हजार ९ सय, चारपांग्रेका लागि ३ हजार २ सय र ठूला साधनका लागि ३ हजार ६ सय रूपैयाँ शुल्क तोकिएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा