शनिबार, साउन ३० २०८३
ताजा अपडेट

आइपुग्यो १४ लाख लाइसेन्स कार्ड, तर छपाइ र वितरणको छैन टुंगो


  • बिहिबार, मंसिर ९ २०७८
7.8K
SHARES

प्रतिकात्मक तस्बिर

यातायात व्यवस्था विभागमा १४ लाख स्मार्ट लाइसेन्स छाप्ने कार्ड आइपुगेको छ । फ्रान्सको सेल्प कम्पनीले ठेक्का सम्झौताअनुसार १४ लाख कार्ड आपूर्ति गरेको हो ।

कार्ड नभएपछि २०७७ फागुनदेखि लाइसेन्सको छपाइ र वितरण ठप्प छ । विदेश जानुपर्ने अत्यावश्यकबाहेकका सेवाग्राहीलाई विभागले एक वर्षदेखि लाइसेन्स छापेर दिन सकेको छैन । आपूर्तिमा लापरबाही र ढिलाइ हुँदा लाइसेन्स परीक्षा नै हुन सकेको थिएन भने निषेधाज्ञाको अवधिमा लाइसेन्स छपाइ समेत रोकिएको थियो ।

हालसालै छपाइका लागि कार्ड आएपनि विभागले तुरुन्तै छपाइ थालिहाल्ने अवस्था भने छैन । विभागका निर्देशक रामचन्द्र पौडेल सेल्पले आपूर्ति गरेको कार्ड विभागले दिएको स्पेसिफिकसेन अनुसार भए/नभएको भन्नेबारे जाँच गर्न बाँकी छ ।

कार्डको मापदण्ड र गुणस्तर जाँच गर्न कसलाई दिने भन्नेबारे पनि अहिलेसम्म विभाग अनिर्णित छ । निर्देशक पौडेलका अनुसार सम्भावित कम्पनीको सूची बनाएर प्रक्रियाअनुसार छनोट हुने कम्पनीको कार्ड परीक्षण गराइने बताउँछन् । त्यसका लागि कार्डको स्याम्पल विदेशी कम्पनीमा पठाउनुपर्ने हुन्छ ।

‘सेल्पले दिएको कार्ड ठीक छ भन्ने प्रमाणित भएपछि मात्रै छपाइ थाल्न सकिन्छ,’ उनले भने । अहिलेसम्म विभागले वितरण गर्ने कार्ड भारतको मद्रास सेक्युरिटी प्रिन्टर्सले आपूर्ति गर्दै आएको थियो । स्मार्ट लाइसेन्सको प्रणाली व्यवस्थापन र छपाइको जिम्मा पनि उसकै हो ।

सेल्पले आपूर्ति गर्ने कार्ड छपाइका लागि मद्रासले यतिबेलासम्म सफ्टवेयरमा परिवर्तन (पर्सनलाइजेसन)को काम सकिसक्नुपर्ने थियो । आफूले पाउँदै आएको ठेक्का यसपटक फरक कम्पनीले पाएपछि मद्रासले प्रणाली सुधारको काममा लामो समयसम्म चासो दिएको थिएन ।

तर, सरकारले कालोसूचीमा राख्ने चेतावनी दिएपछि मद्रासले प्रणालीमा आवश्यक परिवर्तनको काम गरिरहेको विभागको दावी छ ।
अहिले करिब ७ लाख सवारी चालकहरु लाइसेन्स परीक्षा पास तथा नवीकरणको प्रक्रिया पुरा गरेर स्मार्ट लाइसेन्स कुरिरहेका छन् ।

स्मार्ट लाइसेन्स उपलब्ध गराउन ढिलाइ भएपछि विभागले प्रक्रिया पुरा भएकै दिन एक वर्षको म्याद राखेर परीक्षणकालीन लाइसेन्स (अस्थायी) दिइरहेको छ । सक्कली वा नक्कली छुट्याउने ‘क्यूआर कोड’ राखेर विभागले अस्थायी लाइसेन्स दिए पनि सेवाग्राही सन्तुष्ट छैनन् ।

नयाँ कार्डमा छपाइ शुरु भएपछि पनि तुरुन्तै सेवाग्रहीको हातमा स्मार्ट लाइसेन्स पुग्ने अवस्था छैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा