शनिबार, साउन ९ २०८३
ताजा अपडेट

चार महिनामा व्यापार घाटा साढे ५ खर्ब नाघ्यो, तरकारी मात्र १६ अर्बको आयात


  • बुधबार, मंसिर ८ २०७८
9.1K
SHARES

फाईल तस्बिर

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिना (साउन–कात्तिक) मा नेपालको व्यापार घाटा साढे ५ खर्ब नाघेको छ ।

आयात अत्यधिक बढेको र आयातको तुलनामा निर्यातको मात्रा अत्यन्त कम हुँदा व्यापार घाटा उच्च रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ । गत साउनदेखि कात्तिक मसान्तसम्म ६ खर्ब ५० अर्ब २९ करोड रुपैयाँको वस्तु आयात भएको छ । निर्यात भने जम्मा ८२ अर्ब १२ करोड ४२ लाख रुपैयाँको छ । जसले गर्दा ५ खर्ब ६८ अर्ब १७ लाख रुपैयाँको व्यापार घाटा देखिएको भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

गत आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ४ खर्ब २ अर्ब रुपैयाँको वस्तु आयात भएकामा यसवर्ष साढे २ खर्बले बढेर ६ खर्ब ५० अर्ब २९ करोड रुपैयाँको वस्तु आयात भएको हो ।

गत आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महिनामा व्यापार घाटा ३ खर्ब ६२ अर्ब २९ करोड रुपैयाँ रहेको थियो । यस वर्ष व्यापार घाटा ५६.८३ प्रतिशतले बढेको छ ।

तथ्यांक अनुसार चालु आर्थिक वर्षको चार महिनामा वैदेशिक व्यापारको आकार ७ खर्ब ३२ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ६५.४५ प्रतिशत बढी हो ।

गत वर्ष यो अवधिमा ४ खर्ब ४२ अर्ब ६९ करोड रुपैयाँको मात्र वैदेशिक व्यापार भएको थियो । नेपालको वैदेशिक व्यापारमा आयातको हिस्सा ८८.७९ प्रतिशत र निर्यातको हिस्सा ११.२१ प्रतिशत रहेको छ ।

चार महिनाको अवधिमा ८२ अर्ब १२ करोड ४२ लाखको वस्तु निर्यात भएकामा साउनदेखि असोजसम्म ६५ अर्ब ५ करोड रुपैयाँको निर्यात भएको छ । कात्तिकमा मात्र १७ अर्ब ७ करोड रुपैयाँको निर्यात भएको छ । नेपालबाट निर्यात हुने बस्तुमा पाम आयल र भटमासको तेलको हिस्सा सबैभन्दा बढी छ । गत साउनदेखि कात्तिक मसान्न्तसम्म खनिज इन्धन तथा तेल र बिटुमिनको आयातमा ८८ अर्ब २४ करोड ६९ लाख रुपैयाँ खर्च भएको छ । जुन नेपालबाट भएको कुल निर्यात भन्दा पनि बढी हो ।

यो अवधिमा ५५ अर्ब ६२ करोड रुपैयाँ बराबरको आइरन तथा स्टील आयात भएको छ ।
चार महिनाको अवधिमा नेपालमा १६ अर्ब ९ करोड रुपैयाँ बराबरको तरकारी जन्य उत्पादन आयात भएको छ । नेपालबाट तरकारीजन्य उत्पादनको निर्यात भने ३८ करोड रुपैयाँको रहेको छ । चिया र कफी ३ अर्ब ८१ करोडको आयात भएकामा ३ अर्ब १२ करोड रुपैयाँको निर्यात भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा