नेपाल एयरलाइन्सको एक जना पाइलटको सनकले यात्रुले अनाहकमा दुख पाएका छन् भने वायुसेवा निगमलाई पनि खर्च बढेको छ । काठमाडौवाट रुकुमका लागि उडाएको एउटा जहाजका पाइलटले आफ्नो ड्यूटी आवर सकिएको भन्दै रुकुम अवतरण गर्नुपर्ने जहाज नेपालगञ्ज अवतरण गरिदिएका छन् ।
पाइलटले यस्तो गरेपछि काठमाडौवाट रुकुम पुग्नुपर्ने यात्रु नेपालगन्जमा अलपत्र परेका छन् । यो घटना सोमबारको भएपनि मंगलवार मात्र खबर सार्वजनिक भएको छ । सोमबार नेपाल एयरलाइन्सको ट्विन अटर विमानलाई तीन बजे रुकुमका लागि उडेको थियो । जहाजमा ८ जना यात्रु थिए । जहाजको ककपिटमा पाइलट पेम्बा शेर्पा बसेका थिए ।
जहाज तोकिएको समयमै काठमाडौं एयरपोर्टबाट रुकुमका लागि उड्यो । जहाज रुकुम त उड्यो तर गन्तव्यमा भने पुर्याइएन । यात्रुलाई अलपत्र पारेर नेपालगन्जमै अवतरण गराइयो । कति छिटो जहाज रुकुम अवतरण भयो भनेर जहाजवाट झरेका यात्रु भने नेपालगन्ज विमानस्थल देखेर छक्क परेका थिए ।
पाइलट शेर्पाको ड्युटी आवर सकिएको भन्दै जहाज रुकुम नलगेर नेपालगन्जमै अवतरण गराएका थिए । पाइलट शेर्पाले आफ्नो ड्यूटी ४ बजे सकिने र करिब त्यही समयमा जहाज नेपालगञ्ज विमानस्थल माथि पुगेकाले आफ्नो ड्यूटी सकिएको भन्दै नेपालगञ्जमै अवतरण गरिदिएका हुन् । उनको ड्युटी विहान ५.३० वजे देखि दिउसो ४ वजे सम्म थियो ।
काठमाडौवाट उडेको जहाज दिउसो ४ वज्दा नेपालगन्ज विमानस्थल माथि पुगेको थियो । उनले आफ्नो ड्युटी आवर सकियो भन्दै रुकुम नपुगी नेपालगन्ज विमास्थलमै जहाज अवतरण गराएका थिए । त्यसवारे नेपालगन्ज विमानस्थललाई पनि जानकारी थिएन भने यात्रुलाई पनि केही बताइएको थिएन ।
पाइलटका सनकका कारण रुकुम उडेका यात्रुले सास्ती पाए भने यात्रुलाई होेटेलमा राख्नुपर्दा निगमलाई आर्थिक नोक्सानी समेत भएको छ । निगमका अनुसार नेपालगञ्ज अड्किएका यात्रुलाई मंगलबार विहान रुकुम पुर्याइएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।