नेपालमा आजभन्दा करिब १४५ वर्षअघि मेची अञ्चलको इलाम र सोक्तिममा व्यावसायिक चिया खेतीको शुरुआत भयो ।
तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाका ज्वाइँ बडा हाकिम गजराजशमशेर थापाले पूर्वी नेपालको सीमावर्ती भारतीय क्षेत्र दार्जिलिङ भ्रमणको क्रममा त्यहाँ लगाइएको चियाको मनोरम दृश्य, स्वाद र आतिथ्यबाट प्रभावित भएर नेपालमा चिया खेतीको प्रारम्भ गरेका थिए ।
चिया उत्पादनसँगै चिया पिउने बानीमा वृद्धि हुन थाल्यो । आज चिया नेपाली खानपान र संस्कृतिको अभिन्न अङ्ग भएको छ । चिया उत्पादनको हिसाबले नेपाल विश्वको करिब २१औँ स्थानमा पर्छ र आत्मनिर्भर हुँदै विश्व बजारतिर उन्मुख हुँदै आएको छ । चिया संसारभरकै एक प्रमुख पेयको रूपमा स्थापित भएको सन्दर्भमा यसबारे जो कोही उपभोक्ताले पनि सत्य जानकारी राख्नु आवश्यक छ ।
अमेरिकाको खाद्य तथा औषधि प्रशासन (फूड एन्ड ड्रग एड्मिनिस्ट्रेशन) का अनुसार एक दिनमा एक जना स्वास्थ्य वयस्क मानिसले ४०० मिलिग्रामसम्म क्याफिन लिनुलाई पूर्ण सुरक्षित मात्रा मानिएको छ ।
एक कप कफी, ब्ल्याक र ग्रीन टीमा क्रमशः १००, ५० र ४० मिलिग्राम सरदर क्याफिनको मात्रा मान्दा अधिकतम क्रमशः चार, आठ र १० कपसम्म चिया पिउन सकिन्छ । स्मरण रहोस्, क्याफिनयुक्त पेयसँग मदिरा कदापि पिउनु हुँदैन किनकि क्याफिनले मदिराको मात कम गर्ने भएकाले अधिक मदिरा पिएर प्राणघातक हुन सक्छ ।
चियाका फाइदा
चियामा थियामिन नामक एक दुर्लभ किसिमको एमिनो एसिड पाइन्छ, जसले दिमागको कार्य क्षमता बढाउने डोपामिन उत्पादनमा मद्दत गर्छ, जसको कमीले बूढेसकालमा हुने अल्जाइमर रोगको जोखिम बढाउँछ ।
क्याफिनले शरीरको मेटाबोलिजम् बढाउने भएकाले मोटोपन हुनबाट बचाउँछ । चियामा पाइने पोलिफिनोलले एन्टिअक्सिडेन्टको रूपमा काम गर्छ । जसरी फलामलाई खियाले खतम पार्छ, त्यसरी नै हाम्रो शरीरका तन्तुलाई पनि अक्सिडेसनले कमजोर बनाउँछ ।
त्यसको विरुद्ध चियामा पाइने पोलिफिनोलले एन्टिअक्सिडेन्टको रूपमा काम गर्ने भएकाले विभिन्न किसिमका क्यान्सर र असामयिक बूढौलीपन आउनबाट बँच्न सकिने तथ्य पत्ता लागेको छ । अरू चियामाभन्दा ग्रिन टीमा क्याफिन कम र पोलिफिनोल बढी पाइने भएकाले यसबाट बढी फाइदा लिन सकिन्छ ।
नियमित रूपमा ग्रिन टी पिउने जापानीलाई मधुमेहको जोखिम अरूको तुलनामा एकतिहाइ कम भएको पाइएको छ । चियामा पाइने पोलिफिलनोलले रगतमा खराब कोलेस्टोरल र ट्राइग्लिस्राइड कम पार्ने क्षमता भएकाले मुटुसम्बन्धी रोगको खतरा घटाउने सक्ने नतिजा विभिन्न अध्ययनले देखाएको छ ।
चियाको पोलिफिनोल र एन्टिअक्सिडेन्टले छालामा विकिरणबाट हुने असर कम गराउछ र आखा स्वास्थ्य राख्न सहयोग गर्छ । यिनीहरूको जीवाणु प्रतिरोधी गुण भएकाले मुख एवम् दाँतलाई स्वास्थ्य रहर समेत मद्दत गर्छ ।
चियाका बेफाइदा
संसारमा यस्तो खाद्यवस्तु छैन, जसले फाइदा मात्र गरोस् । चियाका पनि केही बेफाइदा छन् भन्ने कुरा बिर्सनु हुँदैन । चिया भोको पेटमा पिएमा चियामा भएको क्याफिनले ग्यास्टिक जुस बढाएर ग्यास्टिक हुने डर हुन्छ । धेरै चिया पिउनाले चियामा भएको टेनिनले हाम्रो शरीरमा आइरन र क्याल्सियमको शोषणमा कुप्रभाव पार्छ र क्रमशः रक्तअल्पता र हड्डी खिइने त्रास बढाउछ ।
व्यक्तिअनुसार क्याफिन बढी भएमा डर, चिन्ता, कम्पन, अनिन्द्रा, मुटुको धड्कन र प्रेसर बढ्ने, बढी पिसाब लाग्ने जस्ता अनेक समस्या देखा पर्न सक्छन् । गर्भवती र स्तनपान गराइरहेका महिलाले चिया नपिउनु नै बेस हुन्छ । पाच वर्षसम्मका बच्चा क्याफिनसँग सम्वेदनशील हुने भएकाले चिया दिनु हुँदैन । औषधि सेवन गरिरहेका बिरामीको हकमा डाक्टरको सल्लाह अनुसार चिया पिउनुपर्छ ।