शनिबार, साउन ९ २०८३
ताजा अपडेट

साझा पार्टीसँगको एकीकरण गल्ती भयो : मिलन पाण्डे


  • सोमबार, मंसिर ६ २०७८
9.7K
SHARES

फाइल तस्बिर

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले साझा पार्टीसँगको एकीकरण गल्ती भएको बताएका छन् । सोमबार कर्मा लामा तामाङको अध्यक्षतामा निर्वाचन आयोगमा दर्ता भएको नेपाल विवेकशील पार्टीलाई बधाई दिँदै संयोजक पाण्डेले अर्को पक्षसँग ‘गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता, समावेशिता’ का एजेन्डामा विश्वास गर्नु नै गल्ती भएको बताएका हुन् ।

गत मंसिरमा विवेकशील र साझा पार्टीबीच दोस्रो पटक एकीकरण भएको थियो । पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गत मंसिरमा विवेकशील र साझा पार्टीको एकीकरण हुँदै गर्दा तपाईँहरूले ‘गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता, समावेशिता’ मा अर्को पक्षको विश्वास गर्न सकिँदैन भन्नुभएको थियो। दस्ताबेजमा यही शब्द किटान गर्न भन्नु भएको थियो। त्यहाँ तपाईँहरू सही साबित हुनुभयो।’

लप्पनछप्पन’ नजान्दा वैकल्पिक राजनीतिमा अहिलेको परिस्थिति उत्पन्न भएको उनले बताएका छन् । उनले अगाडि भनेका छन्, ‘अर्को पक्षको नेतृत्वले लिखित रूपमा ( अग्रगामी, प्रगतिशील, मध्यबामपन्थी, संविधानवादलाई पूर्णतः पालना गर्ने, विगतका आन्दोलनका उपलब्धिलाई रक्षा गर्ने ) र मौखिक रूपमा पनि व्यवस्था विरोधी एजेन्डा नबोक्ने सहमति र गणतन्त्र, सङ्घीयता, धार्मिक स्वतन्त्रता र समावेशिताबारे सहमति जनाउनुभएकोले हामीले उहाँहरूलाई विश्वास गर्ने त्यो निर्णय गर्‍यौँ। हामीलाई लाग्यो लिखित रूपमा पनि यत्ति स्पष्ट छ। मौखिक रूपमा पनि सहमति छ। हामी सुसंस्कृत विवेकशील राजनीति गर्दै थियौँ। यसरी लप्पनछप्पन गर्ने कुरा सोच्न सक्ने कुरा भएन। आखिर राजनीति विश्वास न हो। हामीले विश्वास गर्‍यौँ। त्यसैले, हामीले लेखेको र भएको सहमतिलाई मान्यौँ। आज दुखको कुरा के भयो भने सुसंस्कृत राजनीतिमा अर्को पक्षले लेखेकै र भएकै सहमति मान्नु मेरो गल्ती भयो भन्नुपरेको छ। आज वैकल्पिक राजनीतिमा लप्पनछप्पन नजान्दा यो परिस्थिति आएको हो ।’

स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी तथा धर्मनिरपेक्षतामाथि जनमतसंग्रहको माग राख्दै अध्यक्ष रवीन्द्र मिश्रद्वारा तयार पारिएको दस्ताबेज केन्द्रीय समितिबाट अनुमोदन भएपछि संयोजक पाण्डे पक्ष असन्तुष्ट बनेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा