नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन अगाडि देखिएको सन्नाटा चिर्दै उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । चितवनमा आगामी शुक्रबारदेखि (१० मंसिर) शुरू हुने महाधिवेशन चार दिन बाँकी रहँदा रावलले उम्मेद्वारी घोषणा गरेका हुन् ।
उम्मेदवारी घोषण नेता रावलले गरे सँगै एमाले अध्यक्ष समेत रहेका ओलीको सर्वसम्मत नेतृत्व लिने दाउ सकिएको छ। निर्बिकल्प एमालेको नेता आफू रहेको दाबी गर्दै आएका ओलीलाई उपाध्यक्ष समेत रहेका रावलले टक्कर दिने भएका हुन ।
‘उहाँ (अध्यक्ष केपी ओली) स्वयंले केही पहिले नेतृत्व हस्तान्तरण गर्ने र पुनः अध्यक्ष पदमा नदोहोरिने घोषणा गर्नुभएको हो । त्यसको सम्मानका लागि पनि उमेर र सबै दृष्टिकोणले परिपक्क भएकाले मैले अध्यक्षका लागि अग्रसर हुनु उचित सम्झिएको छु’, उम्मेद्वारीको औचित्य प्रष्ट्याउँदै रावलले भनेका छन् ।
गएको २३ कात्तिकमै रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने संकेत दिएका थिए । गृह जिल्ला अछामको साफेबगर नगर कमिटी बैठकमा रावलले भनेका थिए, ‘यो १० औं राष्ट्रिय महाधिवेशनमा तपाईंहरुको स्वाभिमान भावनालाई, झण्डा चाहिँ बलियो गरी समात्छु । हार्ने जित्ने कुराको चिन्तै नगर्नुहोस् ।
रावलको उम्मेदवारी घोषणासँगै ओली निर्विरोध अध्यक्ष चयन हुने दावी खण्डित भएको छ । ओली निकट नेताहरूले पार्टी नेतृत्व निर्विरोध चयन हुने दावी गर्दै आएका थिए । ‘निर्विकल्प न कुनै व्यक्ति हुन्छ, न कुनै संस्था । तर पनि निर्विकल्प नेतृत्व चयन गर्ने प्रमुख भूमिका अध्यक्ष कमरेडको हो’, रावल निकट केन्द्रीय सदस्य प्रकाश शाह भन्छन् । सहमतिमा नेतृत्व चयन गर्ने सार्थक प्रयत्न अध्यक्ष ओलीबाट नभएपछि उम्मेदवारी घोषणा गर्ने परिस्थिति बनेको उनी बताउँछन् ।