नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओली नेतृत्वको एमाले मधेस र राष्ट्रविरोधी भएको आरोप लगाएका छन्।
बुधबार महोत्तरीको रामगोपालपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले मधेसीको अधिकारका लागि आफू प्रधानमन्त्री छँदा दुई पटक संविधान संशोधन प्रस्ताव दर्ता गराएको तर ओलीको कारण पारित हुन नसकेको दाबी गर्दै पारित नहुन्जेल लडिरहने प्रतिबद्धता जनाए।
‘मधेसीलाई अधिकार दिइएको छैन भनेर मैले दुई पटक संशोधन प्रस्ताव राखें तर त्यतिखेर केपी ओली र एमाले गुटले पारित हुन दिएन। एमाले मधेसी जनता र नेपाल राष्ट्र विरोधी पार्टी हो। प्रस्ताव पारित हुन नदिने सबभन्दा ठूलो खलनायक केपी ओली थिए,’ उनले भने।
मधेसको चुरे दोहन गरेर विदेशमा गिट्टी, बालुवा बेच्न चुरे दोहनको नीतिसमेत एमालेले नै ल्याएको उल्लेख गर्दै उनले केपी ओली नै मधेसको ‘भिलेन’ भएको तर्क गरे। ‘हामीले चुरे दोहन हुन दिन्नौं। मधेसको पहिचान, मुद्दा र समस्यालाई माओवादीले मात्र सम्बोधन गर्न सक्छ,’ उनले थपे।
घुँडा टेकेर महन्थ ठाकुर र राजेन्द्र महतो लगायतका नेताले मधेस विरोधी ओली सरकारमा सहभागी भएकाले अब को मधेसी पक्षधर रहेको स्पष्ट हुन उनले आग्रह गरे। महतो–ठाकुरलाई विदेशी शक्तिले सिंगारपटार गरेर पठाइएको मान्छेको प्रचण्डले संज्ञा दिए।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।