नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले पहल गर्ने बताएका छन् ।
बिहीबार धनगढीमा समाजवादी पार्टीको सुदूरपश्चिम प्रदेशको कार्यालय उद्घाटनपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपालले अदालतमा देखिएको समस्या छिट्टै समाधान हुनुपर्नेमा पाँच दलीय गठबन्धन एकमत भएको बताए ।
‘हाम्रो पाँच दलको बैठक बस्यो । बैठकले सर्वोच्च अदालतमा देखिएको समस्यालाई राम्रो वातावरणमा छिटो भन्दा छिटो समाधान हुनुपर्दछ, सबै पक्षको ध्यानाकर्षण गराउने निर्णय गरेको छ,’ नेपालले भने, ‘यसका निम्ति प्रधानमन्त्रीज्यूले आफ्नो तर्फबाट प्रधानमन्त्रीको हैसियतले पहल गर्नुहुन्छ ।’
पार्टी कार्यालय उद्घाटनका क्रममा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सुदूरपश्चिमबाट फहराएको एकीकृत समाजवादीको झण्डा मेचीसम्म पुग्ने बताए । आफूले स्थापना गरेको नेकपा एमालेको पहिलो पार्टी कार्यालय पनि कञ्चनपुरमा स्थापना गरिएको स्मरण गर्दै नेपालले समाजवादीको कार्यालय स्थापनाको क्रम समेत सुदूरपश्चिमबाटै भएको जनाए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।