नेपाली कांग्रेस चितवनको सभापति पदमा राजेश्वर खनालले उम्मेदवारि घोषणा गरेका छन्। १३ अौं महाधिवेशनबाट महासमिति सदस्य बनेका खनालले बिहीबार पत्रकार सम्मेलन गरेर सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
खनालले चितवनमा कांग्रेस पार्टीलाई व्यवस्थित बनाउँदै बहुमतसहितको पहिलो पार्टी बनाउन आफ्नो उम्मेद्वारी रहेको बताए। उनले अबको कांग्रेस विकास, समृद्धिसँगै सेवामा अग्रसर हुने पार्टी बन्नुपर्ने बताए।
पार्टीलाई यी कुराहरुमा जोडेर अन्य पार्टीको सहयोग बिना चुनाव जित्ने पार्टी बनाउनुपर्नेछ,’ उनले भने, ‘म सभापति भएँ भने नेपाली कांग्रेसलाई रुख चिन्हमा मात्रै भोट हाले पुग्ने पार्टी बनाउनेछु।’
चितवनमा केन्द्रको दबाबमा स्थानीयदेखि प्रतिनिधि सभाको निर्वाचनसम्मै अन्य पार्टीको चुनाव चिन्हमा भोट हाल्न बाध्य भएको गुनासो कांग्रेस कार्यकर्तामा व्याप्त छ।
खनालले केन्द्रमा देखिएको देउवा वा पौडेल कुनै गुटको नभई जिल्लाको आवश्यकताका आधारमा सभापतिमा उम्मेद्वारी दिन लागेको बताए।
उनले सभापति हुँदा एकात्मक सोचको अन्त्य गरि संघ, संगठन र कार्यकर्तालाई व्यवस्थित बनाउने दाबी गरे।
‘म प्रभावशाली पदमा एक व्यक्ति, एक पदमा विश्वास गर्छु, सभापति भइरहँदा मेरो अन्य पदमा आकांक्षा रहनेछैन,’ उनले भने, ‘सम्पूर्ण ध्यान पार्टीमा केन्द्रित गर्छु।’