शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

देउवाले अरू कसैलाई सभापति नछाड्ने, अझै एक कार्यकाल सभापति बन्ने !


  • मंगलबार, कार्तिक ३० २०७८
6.9K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि एक कार्यकाल पार्टी सभापति पदमा लड्ने भएका छन् । महाधिवेशन आउन तीन साता मात्रै बाँकी रहँदा देउवाले महाधिवेशनको आन्तरिक तयारी सुरू गरेका हुन्।

आफू पक्षका नेताहरूलाई बूढानिलकण्ठ बोलाएर देउवाले एकपटक फेरि आफू नै सभापति उठ्ने भएकोले सहयोग गर्न आग्रह गरेका छन्। सोमबार भएको देउवापक्षको आन्तरिक बैठकमा उपसभापति विमलेन्द्र निधि भने गएनन्। निधि सभापति पदमा उठ्ने तयारी गरिरहेका छन्।

सभापतिका अर्का आकांक्षी संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ भने देउवाले बोलाएको छलफलमा गएका थिए। सभापति देउवाले एक कार्यकाल आफू नै सभापति उठ्ने र अर्कोपटक नेताहरूलाई सहयोग गर्ने बताएका थिए। कांग्रेस विधानले नै अर्कोपटक देउवालाई सभापनि बन्न रोक्छ।

सभापति देउवा बोलेपछि महामन्त्री पूर्णबहादुर खड्काले कुरा राखेका थिए। उनले पार्टीमा आकांक्षीहरू धेरै हुँदा सबैलाई मिलाएर जानुपर्ने कुरा राखेका थिए। सभापति देउवाले आफूलाई फेरि सभापति जिताउन सहयोग मागेपछि संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले यसपालि सभापति नउठ्न आग्रह गरेका थिए।

‘तपाईंलाई दु:ख परेका बेला मैले सहयोग गरेको थिएँ। निर्विरोध सभापति पनि बनाएको हुँ,’ पुराना कुरा निकाल्दै श्रेष्ठले भनेका थिए, ‘यसपालि सभापति नउठ्नुस्। मलाई सहयोग गर्नुस्।’श्रेष्ठले सभापति देउवालाई प्रधानमन्त्री भएर काम गर्न आग्रह गरेका थिए।

‘कहिलेकाहीँ छिमेकतिर पनि हेर्नुपर्छ, राम्रा अभ्यास छन् भने सिको गर्नुपर्छ। नरेन्द्र मोदी भारतमा प्रधानमन्त्री छन् उनी पार्टी अध्यक्ष त बनेनन्,’ श्रेष्ठको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईं प्रधानमन्त्री हुनुस्, काम गर्नुस्। सभापतिमा मलाई समर्थन गर्नुस्।’

तर देउवाले यसपालि आफू नै सभापतिका लागि उठ्ने बताएका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा